२२ बैशाख २०८३, मंगलवार

कोलोराडोको बोल्डरमा मे १६ मा बिभिन्न सांस्कृतिक कार्यक्रमसंगै ‘नेपाल डे परेड’ हुँदै

कोलोराडोखबर संवाददाता , May 5th, 2026

-नातिबाब भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा नेपालीभाषी समुदायले नेपालीहरुको भाषा संस्कृती पहिचान तथा संरक्षण गर्ने उद्धेश्यले बिभिन्न सांस्कृतिक कार्यक्रम संगै “नेपाल डे परेड” आयोजना गर्ने भएका छन् ।

कोलोराडोमा नेपाली भाषी समुदाय बिच सकृय रकी माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजना, हेल्पीङ हेण्ड हेल्थ एजुकेसन, एनआरएनए एनसीसीको सहयोग तथा यहांस्थित सबै संघ संस्थाहरुको सहभागीतामा “नेपाल डे परेड” आयोजना गरिन लागेको रकी माउन्टेन फ्रेन्डस अफ नेपालका उपाध्यक्ष हरि गुरुङले बताएका छन् ।

यही मे १६ तरिक आईतबार अपरान्ह १२ बजे देखी दिउसो ३ बजेसम्म बोल्डर शहरमा सञ्चालन हुने कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर एरन ब्रोक्केट, हेल्पीङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ लगाएतका बिभिन्न अतिथीहरुको सहभागीता रहने गुरुङले बताएकाछन् ।

यहाका स्थानीयलाई नेपाल र नेपालीको भाषा संस्कृती पहिचान गराउन पाउने यस महत्वपूर्ण कार्यक्रममा सकेसम्म आ—आफ्नो संस्कृती झल्कने भेष भुषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ । त्यसैगरी संघ संस्थाहरुलाई संभव भएसम्म ब्यानर सहित उपस्थित भईदिनुहुन समेत अनुरोध गरिएको छ । कार्यक्रमलाइ थप मनोरञ्जन प्रदानगर्न नेपाली परेडसंगै नेवाःखल, मगर समाज, तमुपेलु लगायतका संघ संस्थाहरुले आ–आफ्नो संस्कृति झल्कले सांगीतिक कार्यक्रमहरु समेत पर्दशन गर्ने कार्यक्रम रहेको रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष आकृती राइले बताएकी छिन् ।

कोलोराडो स्थित सबै संघ संस्थाका प्रतिनिधि, बुद्धीजिवी, समाजसेवी, गन्यमान्य, पत्रकार, व्यबसायी, कलाकार, नेपाली भाषी बुबा आमा, दाजुभाई, दिदी बहिनी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिनुहुन अध्यक्ष राइले अनुरोध गरेकीछन् ।

परेड कार्यक्रम हरेक बर्ष भौगोलिक स्थितीले काठमाण्डौं उपत्यकासंग मिल्दो जुल्दो शुन्दर नगर बोल्डरमा आयोजना हुने गर्दछ । केहीबर्ष अगाडि देखी अमेरिकाको बिभिन्न स्टेटमा नेपाली परेड आयोजना हुन थालेको छ । कोलोराडोको परेड भने यहां स्थित बोल्डर सिटी एण्ड काउन्ट्रिको कार्यालयले सन् २००४ देखि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचानको लागी हरेक बर्ष नेपालीहरुको “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो ।

अमेरिकामा रहेका पचास स्टेट मध्ये कोलोराडो यस्तो किसिमको कार्यक्रकम आयोजना गर्ने पहिलो स्टेट हो । नेपालीहरुका दिवश भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो । कोलोराडोमा नेपालीहरुको संख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचाहन गराउने उद्धेश्य लिई हेल्पीङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको सकृयतामा यो कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्