२ बैशाख २०८३, बुधबार

केपी शर्मा ओली र रमेश लेखक प्रकरणमा गलत सूचना प्रवाह नगर्न प्रहरीको अनुरोध

कोलोराडोखबर संवाददाता , April 15th, 2026

नेपाल । जिल्ला प्रहरी परिसर काठमाडौँले केपी शर्मा ओली र रमेश लेखक प्रकरणमा गलत सूचना प्रवाह नगर्न अनुरोध गरेको छ।

परिसरमा दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपीहरू केपी शर्मा ओली र रमेश लेखकउपर सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको स्पष्ट पार्दै प्रहरीले भ्रामक सूचना प्रकाशन नगर्न अनुरोध गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त सन्दर्भमा ‘ओली लेखकको अनुसन्धानमा झेल’ भन्ने शीर्षकमा एक युट्युव च्यानलमा प्रसारित १२ मिनेट ४२ सेकेन्डको श्रव्य दृश्य सामाग्रीमा अभिव्यक्त धारणा र सूचनामा ध्यानाकर्षण भएको जनाउँदै अप्रमाणित सूचना सम्प्रेशण नगर्न अनुरोध गरेका छन्।

सूचनामा भनिएको छ, ‘स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौँको कानुनी राय परामर्शमा अनुसन्धान भइरहेकोमा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकोले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारण नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्