नेपाल । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ ।
उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभयो ।
संघीय.य संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको र चैत १२ गते बिहीबार दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथग्रहण हुने जानकारी दिनुभयो ।
उहाँले विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्यलाई सिंहदरबारमा पुग्न आग्रह गरिएको बताउनुभयो ।
५४ जनाले मातृभाषामा शपथ लिने
नवनिर्वाचित सदस्यमध्ये ५४ जनाले मातृभाषामा शपथ लिने सचिवालयलाई जानकारी गराएका छन् ।
नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिने नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित सदस्यको शपथपछि कार्यकाल सुरु हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्