नेपाल । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा माघ १० गतेबाट शहीद सप्ताह सुरु भएको छ ।
माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो । सोही दिनको स्मरण गर्दै शनिबारबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह सुरु गरिएको हो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उहाँको शालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।
यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्