नेपाल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।
चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । सो घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो ।
सर्वोच्च अदालतको फैसला अनुसार उनी आजीवन कारावासको सजाय भोगिरहेका थिए । पछि राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी जेलमुक्त भएका थिए ।
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्