२३ फाल्गुन २०८२, शनिबार

महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि २० जना खेलाडी बन्द प्रशिक्षणमा

कोलोराडोखबर संवाददाता , December 19th, 2025

नेपाल । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) यसअघि प्रशिक्षण क्याम्पमा रहेका २६ खेलाडीबाट २० जना छनोट गरेको हो । यही २० जनाबाट अन्तिम खेलाडीको घोषणा हुनेछ ।

पहिलो चरणको प्रशिक्षण क्याम्पबाट ६ खेलाडी बाहिरिएका छन् । बाहिरिनेमा किरण कुँवर, अलिसा यादव, सिमाना केसी, अनु कडायत, अस्मिना कर्माचार्य र ममता चौधरी हुनुहुन्छ ।

प्रशिक्षण क्याम्पमा निरन्तरता पाउने २० खेलाडीहरुमा इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना छेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ रहनुभएको छ ।

आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

ग्लोबल छनोटअघि नेपाल क्यानले भारतीय हर्शल जयन्त पाठकलाई महिला टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विदेशी प्रशिक्षक पाएको हो ।

प्रतिक्रिया दिनुहोस्