१ पुष २०८२, मंगलवार

कोलोराडोमा योमरी पुन्ही कार्यक्रममा इन्दिरा धिमे मैचा फिल्म प्रर्दशन

कोलोराडोखबर संवाददाता , December 16th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडो निवासी नेवाः समुदायले योमरी पुन्ही कार्यक्रम नेवारी भाषामा निर्मित फिल्म इन्दिरा धिमे मैचा फिल्म हेर्दै स्वादिष्ट योमरी खाँदै मनाएका छन् ।

कोलोराडो नेवाः खलःले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुले ‘ त्यो सिन त्यो वकसिन त्यो’ भन्दै पैसामागेका थिए । त्यसैगरी कार्यक्रममा सहभागीहरुले यथासक्य दान गर्दै, उपस्थितहरु बिच शुभकामना आदान प्रदान गर्दै तथा हर्सोउल्लासका साथ नेवारी भाषमा निर्मित फिल्म इन्दिरा धिमै मैचा हेर्दै योमरी पुन्ही मनाएका हुन् ।

कोलोराडो स्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजिवी, कालाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा नेवारी समुदायका बाआमा, दाजुभाइ दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सहकाल तथा सम्पन्नताका देवता कुवेर र गणेशको पुजागरी सुरुगरीएको कार्यक्रमा आयोजक संस्था नेवाः खलःका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्व बारे चर्चा गरेका थिए । उनले यसको ईतिहास कोट्याउदै नेवाः समुदायमा यस पर्वलाई दानदिने दिनको रुपमा पनि चिनिने गरेको बताउदै सबैलाई यथासक्य दानगर्न अनुरोध गरे ।

सबिता श्रेष्ठले संचालन गरिएको कार्यक्रममा बाल बलिकाहरुले घर घरमा गएर यमरी संगै पैसामाग्ने चलन अनुसार यहांपनि सबै उपस्थित महानुभावहरु समक्ष गएर दान संकलन गरेका थिए । कार्यक्रममा कलाकारहरुले नेवारी परंपरागत धिमेबाजा र नेवारी गीत संगीत बजाएर आफ्नो संस्कृतीको पहिचाहन गराएका थिए ।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश हालको पनौतिमा सुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पत्ती बस्दथे । उनीहरुको चर्चा संसारभर फैलिएको थियो । एक दिन कुवेरलाई पनि उनीहरु कत्तीका दानी रहेछन् भनी बुझ्न दरिद्रको भेष गरि ती दम्पत्तीको घर गएछन् । सुचन्द्र दम्पत्तीले बढो श्रद्धा पुर्वक भोजन गराएको देखि खुसी भई यमरीको महत्व बताएछन् । नयां अन्न भित्र्याएपछि भकारीमा गणेश, कुवेर र तिनका बाहान सहितको प्रतिमा बनाई तिनलाई योमरी चढाउने बिधि बताएर कुवेर अन्तरध्यान भएछन् । त्यो दिन मंसिर शुक्ल पुर्णिमा परेको थियो । त्यसैबेला देखि योमरी पुन्ही मनाउने चलन रहेको बताईन्छ ।

कार्यक्रमको दोश्रो चरणमा हालै नेवारी भाषामा निर्मित चलचित्र इन्दिरा धिमै मैचा प्रदर्शन गरिएको थियो । वास्तविक घटनामा आधारित गोपालकृष्ण महर्जनद्धारा निर्मित, शुरेन्द्र तुलाधरद्धारा निर्देशित तथा कोलोराडो नेवाःखल सहःनिर्माता रहेको फिल्म प्रदर्शन गरिएको हो ।

महिलाले नेवारीबाजा बजाउदा नाटेश्वर देवता रिसाउछन् भन्ने परंपरागत धार्मिक मान्यतालाइ चिर्दै भक्तपुर दतात्रय टोल निवासी ईन्दिरा लाछीमैजुले आफ्नो इच्छा र चहना अनुसार बाधा र अडचन बिच पनि परंपरागत नेवारी धिमे बाजा बजाएर देखाइ दिएकी थिइन् । फिल्म उनैको आत्मा कथामा आधारित रहेको कोलोराडो नेवाःखलःका महासचिव संजय शाक्यले प्रष्ट्याएका थिए । ईन्दिराले अहिले धिमेबाजा मै माष्टर गरिसकेकी छिन् । यस फिल्म अमेरीकाको बिभिन्न स्टेटहरुमा प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम स्थलमा नै मयजु कल्व सदस्यहरुले योमरी तयारपारी कार्यक्रममा सहभागीहरुलाइ तातो तातो स्वादिष्ट योमरी बितरण गरेका थिए । मातृभूमिबाट यतिटाढा रहेर पनि आफ्नो संस्कृतीको पहिचानको लागी नेवारी समुदायले आयोजना गरेको योमरी पुन्ही कार्यक्रम प्रभावकारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्