नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध ७३ करोड रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।
यसअघि आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा पहिलो भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जुन मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
हदबन्दी छुट अन्तर्गत रिजाल क्यानिङ एन्ड कम्पनी सुनसरीले प्राप्त सरकारी सार्वजनिक जग्गा सट्टापट्टाका नाममा बिक्री गरी निजी बनाएको र त्यसबाट गैरकानुनी लाभ लिएको आरोप लगाउँदै आयोगले मङ्गलबार विशेष अदालत काठमाडौँमा दोस्रो मुद्दा दायर गरेको हो । यो पूर्वप्रधानमन्त्री नागेन्द्रप्रसाद रिजालको परिवारसँग जोडिएको कम्पनी हो ।
यस मुद्दामा आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित तत्कालीन सङ्घीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल, तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेठ, पूर्वमुख्यसचिव माधवकुमार घिमिरे (हाल दिवङ्गत), भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्तलगायत ९७ जनालाई प्रतिवादी बनाएको छ ।
आरोपपत्र अनुसार फलफूल उद्योग सञ्चालन गर्ने प्रयोजनका लागि छुट पाएको जग्गा निजी प्रयोजनमा लगाएको र यस कार्यमा प्रतिवादीको संलग्नता रहेको देखिएको छ । उद्योग सञ्चालनका लागि प्रयोग गर्नुपर्ने सर्तविपरीत कम्पनीले उक्त जग्गा निजी प्रयोजनमा लगाएको र पछि सट्टापट्टाको नाममा बिक्री गर्ने प्रक्रिया अघि बढाएको पाइएको आयोगको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्