२८ मंसिर २०८२, आईतवार

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै

कोलोराडोखबर संवाददाता , December 13th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ ।

ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले भक्तपुरमा उद्घाटन गरेर काठमाडौँमा बन्दसत्र हुने महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन हुने छ । ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन् ।

यसै गरी, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को सचिवालय बैठकले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको हो ।

बैठकले विधान अधिवेशनबाट पारित दस्तावेजबाटै नेतृत्व चयन गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी संरचनामा आधारित भएर नेतृत्व निर्माण गरिने छ । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने तयारी गरिएको छ ।

एमाले अध्यक्ष लड्ने तयारीमा रहनुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणापत्र महाधिवेशन प्रतिनिधिलाई वितरण गर्न दिने सहमति सचिवालय बैठकमा बनेको छ । पोखरेलको फरक दस्ताबेज महाधिवेशनको बन्दसत्रमा राख्न दिने सहमति भएको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । पोखरेलले मङ्सिर २२ गते महासचिव शङ्कर पोखरेललाई छुट्टै राजनीतिक एवं साङ्गठनिक दस्ताबेज बुझाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्