नेपाल । सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबिच हस्ताक्षर हुने सम्झौतापत्रको मसौदाको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भइरहेको द्विपक्षीय परामर्शमा सम्झौतापत्रको खाका तयार पार्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको टोली र जेनजीका प्रतिनिधिबिचमा सम्झौतापत्र अन्तिम चरणमा पुर्याउने काम भएको बताउनुभयो । उहाँका अनुसार केही सामान्य प्राविधिक शब्द मात्रै मिल्न बाँकी छ । सरकार र जेनजीबिचमा हुने सम्झौताको मसौदामा सबै विषय टुङ्ग्याएर सम्झौतामा हस्ताक्षर हुने छ ।
यसैबिच प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सम्झौताका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको भेटमा अभियन्ता गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राख्नुभयो ।
उहाँले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने बताउनुभयो । उहाँले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानु परेको गुनासो गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्