७ मंसिर २०८२, आईतवार

दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता

कोलोराडोखबर संवाददाता , November 23rd, 2025

नेपाल । दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबिच शनिबार भएको वार्तामा यस्तो सहमति भएको हो ।

महाअभियानका नाममा प्रसाईंले आइतबारदेखि आन्दोलन गर्ने बताउँदै आएका थिए । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको बताइएको छ । वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बू नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा। निराजन प्रसाईं हुनुहुन्थ्यो ।

सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो । वार्ता प्रधानमन्त्रीको निवास बालुवाटारमा सम्पन्न भएको हो । अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ ।

छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्