२९ कार्तिक २०८२, शनिबार

कविता: विश्वमानव

कोलोराडोखबर संवाददाता , November 15th, 2025

-सुदीपभद्र खनाल-
फलेका झुक्दछन् वृक्ष निहुरिन्छन् गुणी पनि
सुकेको वृक्ष झुक्दैन झुक्दैन मूर्ख त्यो पनि
घमण्ड क्रोध दुर्वाक्य ईर्ष्या द्वेष अनादर
मूर्खका चिन्ह हुन् सोच्छ आफैँलाई पुरन्दर

सेतो हाँस छ त्यो उस्तै बकुल्लो पनि श्वेत छ
दुइटै रूपमा उस्तै यिनमा कुन भेद छ ?
बाहिरी रङ्गले हैन गुण भित्र विभेद छ
दूध छुट्याउने पानीबाट हाँस विशेष छ

लोभीलाई दिए दान झन् धेरै आश गर्दछ
अहंकारी र दुर्वुद्दी भावले नाश गर्दछ
घरको दूध खाएर सर्प वीष बनाउँछ
चुसेर वनका पुष्प मौरी मह बनाउँछ

छाड्दैन बिच्छिले डस्न बोल्न भुल्दैन कोइली
छटा वषन्तको होस् वा शरद्को होस् झिलीमिली
बुझ्नू स्वभाव फेरिन्न प्रकृतिले प्रदत्त हो
फेरिने ज्ञान हो किन्तु मूर्ख सक्तैन बुझ्न त्यो

ज्ञानीले रति गर्दैन अहं ज्ञान भएपनि
अज्ञानीले म हूँ भन्छ ज्ञान क्यै नभएपनि
भन्दैनन् मुनि मै जान्ने ठान्दैनन् ऋषि मै ठुलो
किन्तु संसार यो सारा स्वयं जान्ने स्वयं ठुलो

नारीको रूप हो वैरी तित्राको मुख वैर हो
प्रेम-वैर अविश्वास धनको वैर लोभ हो
ज्ञान सुयोग्यका लागि दया सुपात्र निम्ति हो
कुपात्रका परे हात जान्नू संसार सिद्दियो

उषाको दिव्य आभाझैँ जिन्दगी एक ज्योति हो
महाआकाशगङ्गामा मृदुल-स्मृति एक हो
के ल्यायौँ र छ के लानू यहाँबाट विदाहुँदा
विश्वमानवको आत्मा बोकेर बाँच सर्वदा ।

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्