-लालगोपाल सुवेदी-
तथागत भन्छन्-
संसार दुख्खैदु:ख हो
दु:ख हो आकाशै छुनेगरी पिङमा मच्चिनु
दुख्खै हो चराझैं जहाजमा उड्नु
दुख्खै हो सुनको सिंहासनमा विराजमान हुनु
दुख्खै हो सुनको थालमा चौरासी व्यन्जन ज्युनार गर्नु
जन्मनु पनि दु:ख
प्रेमजोडी बनेर अलकापुरी वा नन्दन वनमा
शयर गर्नु पनि दु:ख
मगमग मगमग जगमग जगमग दु:खमय छन्
अन्तर्यमा भेटिन्छ छैटौं इन्द्रिय मन
दन्तलहर फेसबुकका भित्तामा छन्
कर्णविवर मृदुवचनमा गदगद छन्
श्रवणेन्द्रियलाई रम्य लाग्छ
शंखघण्टको जस्तो तुमुल-ध्वनि, पूजन-भजन
हाय अविद्या !
कसरी गर्नु मैले ब्रह्मविहार ?
दु:ख हो कविता, दुख्खै हो
चढि त हाल्छ इन्द्रासनमा भौतिक मन
हाय अविद्या !
भौतिक पराभौतिक नयनमा आज
अणु परमाणुसरि सूक्ष्म जीवहरू छन्
ती बरा एकै श्वासमा पनि मर्छन्
हाय इन्द्रासन !!
दु:ख हो कविता
कसरी भेट्टाउने हो मैले
उपेक्षा, करुणा , मैत्री र मुदिता
आजका कविताका दु:खहरू छन् ।
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्