-सुदीपभद्र खनाल-
सच्चा नेता कुसमय हुँदा अड्छ नेतृत्व लिन्छ
जस्तै आउन् उचनिच सदा राष्ट्र सम्झी खटिन्छ
जस्को श्रद्दासँग हृदयले लोक सम्मान गर्छन्
मर्दा लाखौँ जन युगयुगौँ सम्झिई फूल छर्छन्
नेता त्यो जो कलह र व्यथा दु:ख अन्याय मेट्छ
खोजी राम्रोपन विषमता बीच एकत्व जोड्छ
आमा सम्झी मुलुक; रणमा मातृभू नीम्ति मर्छन्
जस्को सारा जनहृदयले उच्च सम्मान गर्छन्
नेता हो जो युगसँग स्वयम् साउती मार्न सक्छ
हाँसी हाँसी जन र मुलुकी जीतमा हार्न सक्छ
जस्ले कालो कुपथ कटुता भीड सारा समाल्छन्
ल्याई नौलो समय धरतीमा नयाँ दीप बाल्छन्
नेता त्यो जो जसँग छ युवा साथ बूढो र बाल
हाल्छन् जस्ले जग नियमको कूट खेलेर चाल
उम्दा नेता सुझबुझ गरी पाइला दूर चाल्छन्
ल्याई धर्तीभर मनुजता प्रेम भातृत्व पाल्छन्
नेता राम्रो उदय नभए उठ्न सक्दैन देश
राम्रो यौटै मुलुक नभए सभ्यता के विशेष
राम्रो नेता प्रखर छ भने राष्ट्र निर्माण थाल्छन्
धर्तीनै यो सुखमय र भूस्वर्गझैँ पार्न थाल्छन् ।
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्