नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समय सङ्घीय संसद् भवनको निर्माण सम्पन्न नगरिए ठेक्का सम्झौताबमोजिम कारबाही हुने चेतावनी दिनुभएको छ ।
मन्त्री घिसिङले भन्नुभयो, “कामको गति बढाउनतर्फ लाग्नु भएन भने ठेक्का सम्झौताबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्छ, त्यसको सम्पूर्ण दायित्व निर्माण व्यवसायीले बहोर्नुपर्ने छ, त्यसैले सबै गम्भीर भएर लाग्नुहोला ।” सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको शनिबार स्थलगत अनुगमन गर्दै उहाँले त्यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले मुलुकमा अहिले निर्माण भइरहेका भवनमध्ये संसद् भवन सबैभन्दा ठुलो र महत्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गर्नुभयो । सो असरमा मन्त्री घिसिङले निर्माण व्यवसायीसँग निर्धारित समयमा काम सम्पन्न हुने गरी कार्यतालिकासमेत माग गर्नुभएको थियो ।
तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी संसद् भवन निर्माणका लागि २०७६ असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौँ पटक थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदै छ । आयोजनाको सिभिललगायतका संरचना निर्माणको प्रगति करिब ८७ प्रतिशत रहेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० सालमा अर्को ठेक्का सम्झौता भएको थियो । यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्