१७ आश्विन २०८२, शुक्रबार

सरकारले दण्डहीनतालाई प्रोत्साहन गर्‍योः नेपाली कांग्रेस

कोलोराडोखबर संवाददाता , October 1st, 2025

नेपाल । नेपाली कांग्रेसले निवर्तमान सरकारका प्रधानमन्त्री, मन्त्रीसहितका पदाधिकारीहरुको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

कांग्रेसका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्यमार्फत् सरकारले राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोधपूर्ण निर्णय गर्न थालेको भन्दै विरोध जनाएका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोग गठन भएको छ। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख (सीडीओ) छवि रिजालको पासपोर्ट पनि रोक्का गर्ने निर्णय भएको छ ।

पाँचैं जनालाई विदेश भ्रमण रोक्न राहदानी विभागलाई पत्राचार गरिएको छ भने स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय पनि भएको छ ।

यसलाई कांग्रेसले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भनेको छ। एमालेले पनि सरकारले प्रतिशोधपूर्ण व्यवहार देखाईरहेको बताइसकेको छ। कांग्रेसले ‘दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई सचेत’ गराएको छ ।

प्रतिक्रिया दिनुहोस्