४ चैत्र २०८२, बुधबार

वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको एमालेको आरोप

कोलोराडोखबर संवाददाता , September 29th, 2025

नेपाल । नेकपा (एमाले) ले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाएको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जना नेताको राहदानी रोक्का गर्ने निर्णयलाई दुर्भावनापूर्ण र असंवैधानिक कदमका रूपमा लिएको छ।

बैठकले हालै सरकारले गठन गरेको जाँचबुझ आयोगमार्फत पार्टी अध्यक्षसहित नेताहरूको राहदानी रोक्का सिफारिस गराइएको विषयलाई लक्षित राजनीतिक हमला भएको ठहर गरेको छ ।

त्यस्तै, भदौ २३ र २४ गते भएका विध्वंसकारी घटनामा संलग्न दोषीलाई कारबाही अघि नबढाउन गृह मन्त्रालयले प्रहरीलाई दिएको निर्देशनप्रति पनि एमालेले असन्तुष्टि जनाएको छ । पार्टीको ठहरमा, यस कदमले प्रहरी प्रशासनको कानुनसम्मत अधिकारक्षेत्रमा हस्तक्षेप गरेको छ र सुरक्षाकर्मीहरूलाई निर्बाध रूपमा काम गर्न नदिने वातावरण सिर्जना भएको छ ।

बैठकले समसामयिक विषयमा विस्तृत छलफलका लागि पार्टी केन्द्रीय समिति बैठक असोज २७ देखि २९ गतेसम्म बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्