२८ भाद्र २०८२, शनिबार

लघुकथा: थोते मुस्कान

कोलोराडोखबर संवाददाता , September 13th, 2025

-आरसी रिजाल-
चौतारीमा युवायुवती भन्दा प्रौढ र पाकाहरु बढी भेला भएका छ्न्। गाउँलेले मानी आएका प्रौढ शिवराम सभामा यसरी मन्तव्य व्यक्त गर्छन् — हामिले प्रत्येक वडामा “मलामी समिति ” गठन गरेर प्रत्येक मलामी रु ३०००/- दिएझैँ अब — “पाका सेवा समिति” गठन गर्न अनिवार्य भैसक्यो। पाकाका सन्तान ” केयर गिभर ” को रुपमा बिदेशी पाका स्याहार्न र अन्य काममा लागेका छ्न।उनिहरुबाट मासिक निश्चित रकम पाका समितिको खातामा पठाउन अनुरोध गरौँ । गाउँमा कसैको करेसा वारिको रेखदेख, कसैलाई डोर्‍याएर हिडाउन पर्ने, कसैलाई रोग अनुसार खानपिन र औषधिको व्यवस्था आदि गर्दिनु पर्छ। मेरो बिचार सुनिहाल्नु भयो ।अब यहाँहर्को प्रतिक्रिया पाउँ भन्दै कुरा टुंग्याए।

सामाजिक कार्यमा लागिपर्ने बुढा सेवकदत्तले भने –शिवको कुराले मन छोयो।कोषबाट मासिक तलव भत्ता तोकौँ।यसोगर्दा गाउँका युवायुवतीले काम र बुढाबुढीले आराम पाउछन् । मृत्युपछि आआफ्नो संस्कार अनुसार पितृकार्य गरेको व्यहोराको सूचना सन्तानलाई पठाइदिने गरौं। म आफ्नै पौरखले बाँच्नसक्ने क्षमता भएको हुदा मैले वृद्धभत्ता बापत पाउने रकम सधैं समितिको खातामा जम्मा गरिदिन्छु भने।

त्यसपछि अन्य केही उपस्थितले थोरै रकम भए पनि बोले।कसैले – जस्तो अवस्था त्यस्थै व्यवस्था गर्नै पर्छ भने।थोरै आहारा पेटमा हालेर, लौरोका साहारामा आएका वृद्धजनले चाउरेका गाला भित्रका थोतेदाँतका मुस्कान छर्दै — हाम्रो भलाइ सोच्ने सम्पुर्ण जयहोस् भन्दै हिँडे।

सूनिन्छ ऎले त्यो गाउँको सिको अन्य गाउँले पनि गर्दैछ्न् रे!

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्