३० भाद्र २०८२, सोमबार

नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी

कोलोराडोखबर संवाददाता , August 20th, 2025

नेपाल । हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् कहिले अनुपम प्रकृतिमार्फत् । अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर सुनाउने भएको छ ।

नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी गरिएको जनाएको छ । यस साझेदारीले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, पर्व–उत्सव, खानपान र साहसिक अनुभवलाई विश्वका करोडौँ डिजिटल दर्शकमाझ पुर्‍याउने लक्ष्य लिइएको छ ।

साझेदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्ड र टिकटकबीचको यो सम्झौता केवल प्रचारप्रसारको काम मात्र नभई नेपाललाई नयाँ पुस्तासम्म पुर्याउने अभियान भएको बताउनुभयो । आजका युवाले भ्रमणको निर्णय गर्नुअघि वास्तविक कथा र अनुभव खोज्न चाहने भन्दै उहाँले टिकटकमार्फत उनीहरूसम्म नेपालका अद्वितीय पर्यटकीय गन्तव्यका कथा सुनाउने र देखाउने अवसरको उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ। जसमा नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।

कार्यक्रममा टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत् हरेक दिन करोडौँ मानिसले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्