३० भाद्र २०८२, सोमबार

नेपाल विद्युत् प्राधिकरणको नाफा ३७.३२ प्रतिशतले घट्यो

कोलोराडोखबर संवाददाता , August 18th, 2025

नेपाल । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । गत आर्थिक वर्ष २०८१–८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा प्राधिकरणको नाफा ३७.३२ प्रतिशतले घटेको हो ।

प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार प्राधिकरणले गत आवमा कर चुक्तापूर्व नौ अर्ब छ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । यस्तो नाफा आव २०८०–८१ मा १४ अर्ब ४६ करोड रुपियाँ थियो ।

प्राधिकरणको सञ्चालन खर्चमा आएको वृद्धि, विदेशी मुद्रा विनिमय प्रभाव र जोखिम कोषमा रकम जम्मा गर्दा नाफामा कमी आएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो । वित्तीय विवरण अनुसार खुद सञ्चालन खर्च एक वर्षको अवधिमा दुई अर्ब १० करोड रुपियाँले बढेको छ ।

त्यस्तै विनिमय दर परिवर्तनका कारण मात्रै दुई अर्ब २५ करोड रुपियाँ थप व्ययभार थपिएको प्रतिवेदनमा उल्लेख छ । शाक्यका अनुसार गत आवमा पाँच अर्ब रुपियाँ जोखिम कोष (प्रोभिजनिङ) का लागि छुट्याइएकाले पनि नाफा घट्न पुगेको हो । कुल व्यवसाय ८.४ प्रतिशतले बढेर एक खर्ब २५ अर्ब २७ करोड पुगे पनि समग्रमा अघिल्लो आवभन्दा गत आवमा प्राधिकरणको नाफा पाँच अर्ब ३९ करोड रुपियाँले कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्