१४ भाद्र २०८२, शनिबार

कविता-‘कामना: मृत्युपछिको’

कोलोराडोखबर संवाददाता , August 9th, 2025

-आर. आर. चौलागाईं-
जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले लेखेका अक्षरहरू
रहुन् मैले बोलेका आवाजहरू पनि
मैले टेकेका पदचापहरू पनि रहुन्
मैले लगाएका हस्ताक्षरहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।

जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले हेरेका दृश्यहरू
रहुन् मैले सुनेका गीतहरू पनि
मैले भोगेका कथाहरू पनि रहुन्
मैले थालेका अभियानहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।

जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले खिचेका तस्वीरहरू
रहुन् मैले कोरेका किरिङमिरिङहरू पनि
मैले देखेका सपनाहरू पनि रहुन्
मैले व्यक्त गरेका अभिलाषाहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।

जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले हिँडेका गोरेटाहरू
रहुन् मैले नाघेका फड्केहरू पनि
मैले पानी खाएका कुवाहरू पनि रहुन्
मैले वास बसेका पाटी र पौवाहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।

जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मलाई माया गर्ने साथीहरू
रहुन् मलाई घृणा गर्ने साथीहरू पनि
मलाई सहयोग गर्ने आफन्तहरू पनि रहुन्
मलाई असहयोग गर्ने आफन्तहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्