-आरसी रिजाल-
उमेर ढल्केपछि बिरामी हुँदा — आफन्तका कुरा छाडौं ,आउनै नपर्ने मान्छे आएको देख्दा खुच्चिङ भन्न आएझैँ लाग्दो रहेछ। अहिले एक्लै उत्तानो परेर सिलिङ्तिर हेर्दै छु।मनमा तर्कना खेल्दैछ्न — म जन्मे।युवा र प्रौढ अवस्था गुजारेँ।अब बूढो भएँ।यसपछि आउने अवस्था निश्चित छ।
यतिबेला जीउँदै छु। तर मरेपछि समाजले मलाई के भन्ला ? भन्ने पिर लाग्न थालेको छ। मेरा पितामाता बित्नु भयो।उहाँहरु बित्नु भएको भोलिपल्ट दुईदिन भयो। स्वच्छु– वंश वृद्धि त पशुले पनि गरेको छ। मातृभूमिको भार टार्न मैले के गरेँ ?
पिताजीलाई जवाफ नफर्काउने छोरा त्यो रात सपनामा उहाँसँग भनाभनै भयो।उहाँले भन्नुभयो — आफू अनपढ भए पनि तँलाई कलेज पढाएको।मैले आफ्नो सन्तानको वास्ता नगर भनेको हैन। जन्माएपछि शिक्षादीक्षा दिनु बाउआमाको कर्तव्य हो।अलिकति सामाजिक हुन सिक भन्न खोजेको मात्र हुँ।
मैले भने — तिथिमा तपाईंलाई पिण्ड लडाएकै छु।खानु अगाडि औसानी चढाएकै छु।अनि तपाईंचैँ किन सामाजिक नभएको त?
उहाँले– पिण्ड,औसानी आदि हाम्रा संस्कार हुन।ती नितान्त व्यक्तिगत कुरा भए ।जहाँसम्म सामाजिक कुरा गरिस — हाम्रो समयमा सन्तान धेरै हुन्थे।साच्चै भन्ने हो भने लालनपालन गर्नै धौधौ पर्थ्यो। तैंले त समाजसेवाको लागि आफ्नो क्षमताले भ्याउँदो कोष स्थापना गर्न सक्छस्। नसके जनचेतना जगाउने कार्यमा जुटेको भए सामाजले हाइहाइ गर्थ्यो र सामाजिक व्यक्तित्व बन्थिस। तेरो नामसँग फलानाका छोरा भनि हामी पनि बाँचथ्यौँ।अनि ………।
बिउँझदा पसिनाले भिजेको पाएँ।यहि ज्ञान म युवा/प्रौढ हुँदा पिताजीले किन दिएनन् ? मनमनै पिताजीसँग रिसाएँ। बिस्तारै टेबलको ऎना तानेर हेरेँ। ऎनाभित्रको आकृतिले मलाई गिज्याएझैँ लाग्यो।।।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्