२८ असार २०८२, शनिबार

राष्ट्र बैंकद्वारा आव २०८२-०८३ को मौद्रिक नीति सार्वजनिक

कोलोराडोखबर संवाददाता , July 12th, 2025

नेपाल । अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि लचिलो तथा उदार मौद्रिक नीति ल्याएको छ ।

मौद्रिक उपकरणको खुकुलो प्रयोग, निजी क्षेत्रको पुँजी निर्माण र समस्यामै रहेका क्षेत्रलाई सहुलियत दिने गरी गभर्नर प्राडा विश्वनाथ पौडेलले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

घट्दो ब्याजदर अझै कम गर्न सघाउने गरी नेपाल राष्ट्र बैङ्कले बैङ्क दरलाई ६.५ प्रतिशतबाट घटाएर छ प्रतिशत, निक्षेप सङ्कलन दर तीन प्रतिशतबाट घटाएर २.२५ र नीतिगत दरलाई पाँच प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको छ । सजगतापूर्वक लचिलो प्रकृतिको भनिएको यो मौद्रिक नीतिबाट सरकारले लक्ष्य गरेको छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी मुद्रास्फीतिलाई पाँच प्रतिशत हाराहारीमा राख्ने गरी तर्जुमा गरिएको गभर्नर पौडेलले बताउनुभयो ।

मागमा आएको सङ्कुचन र अन्य वित्तीय समास्या सामना गरिरहेको अहिलेको निजी क्षेत्रमा जाने कर्जा वृद्धिदर १२ प्रतिशत रहने आकलन मौद्रिक नीतिको छ । ब्याजदर न्यून हुँदा पनि लगानीका लागि निजी क्षेत्र आकर्षित नभएका बेला राष्ट्र बैङ्कले वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने तथा कर्जाको अधिकेन्द्रीकरणलाई कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनमा अग्रसर हुने गरी विभिन्न नियामकीय व्यवस्थामा तादम्य गरिएको गभर्नर पौडेलले बताउनुभयो ।

मौद्रिक नीतिले एकल सेयर कर्जालाई १५ करोडको सीमाबाट बढाएर २५ करोड रुपियाँ पुराइएको छ । निजी आवासीय घर खरिद तथा निर्माणमा प्रवाह गर्ने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड रुपियाँ पुराइएको छ भने पहिलो पटक यो सुविधा लिनेलाई ८० प्रतिशतसम्म कर्जा दिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्