२७ असार २०८२, शुक्रबार

पोखरामा दुर्घटना भएपछि बन्द भएको प्याराग्लाइडिङको सोलो उडान पुनः खुला

कोलोराडोखबर संवाददाता , July 11th, 2025

नेपाल । पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि बन्द भएको प्याराग्लाइडिङको सोलो (एकल) उडान पुनः खुला गरिएको छ । पाइलटले तोकिएको क्षेत्रभन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै झन्डै तीन वर्षदेखि रोकिएको एकल उडान नयाँ कार्यविधि बनाएर पुनः खुला गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङको एकल उडानमार्फत देशको पर्यटन प्रवर्धनमा विकास गर्ने उद्देश्यसहित नयाँ कार्यविधि बनाएर उडान खुला गरिएको जानकारी दिनुभयो ।

प्राधिकरण तोकेको निश्चित उचाइ र दुरी (बक्स) भित्र रहेर प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को जिम्मामा रहेको प्याराग्लाइडिङ क्षेत्रभित्रै रहने गरी संस्थाकै प्रत्यक्ष निगरानी तथा सुपरिवेक्षणमा सोलो उडान खुला गरिएको उनको भनाइ छ ।

उहाँका अनुसार कार्यविधिमा तोकिएको प्याराग्लाइडिङ क्षेत्रबाहेक अन्यत्र उड्न नपाउने गरी कडाइ गरिएको छ ।

हाल देशभर ९० वटा प्याराग्लाइडिङ कम्पनी दर्ता रहेका छन् । जसमध्ये ६५ वटा कम्पनीले उडान सेवा दिँदै आएका छन् । उडान सेवामा रहेका कम्पनीमध्ये ५२ वटा कम्पनी पोखरामा रहेका छन् ।

पोखरामा रहेका कम्पनीमा एक अर्ब रुपियाँ हाराहारी लगानी छ । देशभर तीन सयभन्दा बढी प्याराग्लाइडिङ पाइलटले लाइसेन्स लिएकोमा विभिन्न कम्पनीमा २५८ प्यारापाइलटले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्