२१ असार २०८२, शनिबार

मैले देखे-भोगेको मदन भण्डारी

कोलोराडोखबर संवाददाता , July 2nd, 2025

-किशोर श्रेष्ठ-

पञ्चायती शासन उत्कर्षको बेला,२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय पत्तो भएन ।

खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन धारावाहिक खवरसहित आउनुभयो-,”नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।” ठीक त्यति नै बेला सोभियत संघ (हालका १५ अलग देश रुस, युक्रेन, बेलारुस, लिथुएनिया, जर्जिया, मोल्दोभा, कजाकस्तान, अजरबैजान, ताजिकिस्तान, उज्बेकिस्तान, आर्मेनियाको पूर्व एकीकृत रुप) लाई कम्युनिस्ट नै मान्ने कि सामाजिक साम्राज्यवादी भन्ने ?-यसवारे पनि विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो किनकि त्यतिखेर त्यहाँको कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्वाचेभको पेरेस्त्रोइका र ग्लास्तनोस्तवाला उदारवादी हावा जो उत्कर्षमा थियो ।

गोर्वाचोभका पक्षमा फरक मत राखेवापत गोपाल शाक्यलाई नव ट्राटस्कीपन्थीको उपाधी दिइयो । उता,चीनको थ्यानआनमेन चोकलाई पनि स्वतन्त्रता र प्रजातन्त्रका नाममा विद्यार्थीहरुको धर्नाले तनाव थप्दै थियो । हाम्रै पत्रिका टीमका अग्रज तथा कवि हृदयका रघुजीपन्तलाई समेत चीनको विद्यार्थी तरङ्गले नछुने कुरै भएन । त्यसैले उहाँ त्यस्तै स्वतन्त्रताको पक्षमा लेख्न थाल्नुभयो । यसरी आधिकारिक पत्रिका “दृष्टि” पार्टी लाइनभन्दा अलि बाहिर जाने हो कि भन्ने त्रास उत्पन्न भएछ क्यारे नेतृत्वलाई । यसर्थ दृष्टिभित्रबाट मलगायतको यौटा सानो समूहलाई “नवयुग” नामक बुलेटिन निकाल्ने काममा खटाइयो । त्यसमा पर्दा पछाडिबाट सँलग्न हुनुहुन्थ्यो,मदन भण्डारी । नवयुग त निकाल्यौँ भूमिगत रुपमा,तर बजारमा लान र प्रशासनको आँखामा बैधानिकताको धुलो छ्याप्न सम्पादक,प्रकाशकको नाम त राख्नैपर्थ्यो ।

त्यसरी जानी जानी थुनामा पर्न को जाने ? त्यसैले नेकपा मालेको नक्कली फुल फर्म (नेत्रकमल पाठक,मानेडाँडा लेकथुम) जुराएर काम फत्ये गरियो । फागुन ७ देखि त आन्दोलन शुरु भैहाल्यो । २०४६ सालको परिवर्तनलगत्तै मदन भण्डारी एकदिन सुनकोशी छापाखाना,कालीमाटीको दृष्टि कार्यालयमा खुसुक्क प्रकट हुनुभयो । त्यतिबेलासम्म हामीले उहाँलाई मदन भण्डारी नै हो भनेर चिनिसकेको अवस्था थिएन । मोटोमोटो ज्यान,हँसिलो,मीठो बोल्ने,त्यस्तो पात्रलाई पार्टीको ठूलै नेता हुनुपर्छ भन्नेसम्म त अनुमान लगायौँ तर महासचिव नै भनेर पत्तो थिएन । पार्टी प्रवक्ताको रुपमा उहाँका बोली व्यवहारबाट जो कोही प्रभावित नहुने कुरै भएन । कति नै थिए र त्योबेला पार्टीनिकट पत्रकार र पार्टीका आफ्ना अखबार ! कति नै थिए र संकटको घडीमा काँध थाप्न प्रकट हुने बफादार,अनुशासित बुध्दिजीवी र कलमजीवी सिपाहीहरु !

एक नम्बर वरियताको नेता भैकन पनि सबैसङ्ग बस्ने,खाने,मन माझ्ने,घमण्ड नगर्ने,ठूलो नपल्टिने,राम्रो लवाइखुवाइ नगर्ने मानिसलाई प्रवक्ताको रुपमा छेउमै पाउनु ७०० रुपैयाँ तलब थापेर सन्चार मोर्चामा काम गर्ने हामी युवा पार्टी कार्यकर्ताका निम्ति गर्वको बिषय थियो । विद्यार्थी राजनीति गर्ने,त्यहाँबाट बचेको समय पत्रकारितामा पनि लगाउने काममा खटिएका हामीलाई सरल र सहज नेताको साथ पाउँदा कम्युनिष्ट आदर्श भनेको यस्तो हुनुपर्छ भन्ने लाग्ने नै भयो । सुनिरहुँ लाग्ने,संस्कृत र उर्दूमा झर्रो नेपाली मिसिएको त्यस्तो बोलीको धनी मदन भण्डारी आएर सुनकोशी छापाखानामा उर्जा दिइरहनुभयो । पछि पो चिन्यौँ,यतिन्जेल हामीसङ्ग रम्ने उहाँ नै पार्टी महासचिव नै हुनुहुँदो रहेछ । अब उहाँलाई भेट्न आउने विदेशीहरु बाक्लिन थाले ।

त्यससँगै बागबजारमा पार्टी कार्यालय खुल्यो । त्यहाँ हाम्रो पनि जाने-आउने क्रम चल्ने नै भयो । दृष्टिको तत्कालीन व्यवस्थापनमा अनुशासन र मितव्ययिता भन्दै टीमको खाजा कटौती गरेर श्रमजीवी क्याडरलाई काममा लगाउने तर नेताहरुलाई भने सँस्थाको खर्चबाट ओभरकोटसमेत किनिदिने साथीहरु पनि हुनुहुन्थ्यो तर हामीले यसमा कुनै गुनासो गरेनौँ । किनभने थाहा थियो,हामी जे गर्दैछौँ,पार्टीको लागि गर्दैछौं । यहाँ मदन भण्डारीजस्तो नेता पनि हुनुहुन्छ जो सादगीमा विश्वास गर्नुहुन्छ र सामुहिकतामा रमाउनुहुन्छ । त्यसले गुनासो उठ्न नदिने नै भयो । शीर्ष नेतृत्व गुणी हुँदा या इन्जिन दह्रो भैदिँदा रेलका डब्बाहरु उर्जारुपी कोइला कम भए पनि छुकछुक गतिमै किन नहोस् लिक नछाडी कुदिरहन्छन् भन्ने यो मीठो भोगाइ हो मेरो जीवनको ।

एकदिनको सम्झना छ,मदनले भिजिटिङ कार्ड बनाउनुपर्‍यो भन्नुभएको । नक्सालमा डेरा थियो उहाँको । सायद हामी प्रेससँग सम्बध्द रहेको र त्यो पनि पार्टीकै पृन्टिङ्ग प्रेस भएको हुनाले अखबार छपाइसहित दुबै काम एक ठाउँबाट हुन्छ भन्ने लागेको थियो होला उहाँलाई,त्यसैले भिजिटिङ कार्ड बनाइदिन मलाई भन्नुभएको । तर सुनकोशी छापाखानाको व्यवस्थापक त उत्तम महतजी हुनुहुन्थ्यो । पैसाको मामिलामा उत्तिकै कडा उहाँले त्यत्तिकै किन छाप्न मान्नुहुन्थ्यो र ? जीवनमा अफसोच यही छ कि,मैले मदन कमरेडलाई त्यो बेला उहाँको चाहनाअनुसार भिजिटिङ कार्ड छापेर दिन सकिनँ,न त मेरो सीमा र बाध्यता नै बताउन सकेँ । तर,पनि सधैँ उहाँको प्रिय भइरहेँ भन्ने कुरामा अझै पनि गर्व गर्दछु । उहाँले एउटा आशालाग्दो,भर्खर उदाएको पत्रकार हो,यसलाई उठाउनुपर्छ भनेरै मलाई नयाँ दिल्ली लिएर जानुभयो भने राजेन्द्र स्थापितलाई कलकत्ता लानुभयो । पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुसँगको भेटघाट,विनोद मिश्रसँगको छलफल र भाकपा माले (लिबरेशन) को कलकत्ताको ब्रिगेड मैदानमा आयोजित आमसभालगायतका कार्यक्रमहरुमा सरिक गराउनुभयो ।

म भाकपा मार्क्सवादीका महासचिव हरकिसनसिंह सुरजितलगायत भाकपा मालेकै दिल्लीस्थित हेडक्वार्टरको भ्रमण,कम्बोडियन र भियतनामी दूतावासमा राजनीतिक मामिला हेर्ने अफिसरहरुसँगको भेटघाटमा पनि सरिक भएँ ।झिल्लुप्रसाद तिवारी,केशवलाल श्रेष्ठ सँगै हुनुहुन्थ्यो । पुरानो दिल्लीको एउटा धर्मशालामा बास बसेको,सँगै सादा भोजन ग्रहण गरेको,हाइफाइवाला होटेल,गाडी र खाना नखोजेको-मदनको त्यस्तो सादगी जीवनको सम्झना छ मसङ्ग । त्यताबाट फर्केपछि पाँचौँ महाधिवेशनको चटारो र टनकपुर (महाकाली) सन्धिको उत्कर्षवीच कन्चनपुर गएको,जुलुसमा सामेल भएको र टनकपुर बाँधको निरीक्षण गरेको,दाङ्ग हुँदै फर्केको पनि सम्झना छ । त्यतिखेर पार्टीमा अलिकति फरक मत पनि प्रकट भइसकेको थियो । अशोक राई,सिपी मैनालीहरुको एउटा धार थियो । अशोक राई र मदन पूर्वमा पनि सँगै काम गर्नुभएको हुनाले एकै ठाउँमा हुनुहोला भन्ने त लाग्थ्यो तर उहाँहरुका वीचमा लाइनको हिसाबले फरकपना आइसकेको रहेछ ।

त्यसैले अशोक राई फरक कित्तातिर हुँदाखेरि सँगै गाडीमा लिएर आउने कि नआउने भनेर हामीवीच अलिअलि विवाद हुँदा मदनले त्यसो नगरौँ भनेर सँगै हिँडाउनुभएको अर्को पनि सम्झना छ । पाँचौँ महाधिवेशनताका प्रचारको क्रममा हामी जुटेको,खुलेको पनि सम्झना छ । प्रज्ञा भवनभित्र महाधिवेशनको हलमा रघुजी पन्त (हालका शिक्षा मन्त्री) सामाजिक जनवादको लाइन लिएर आउनुभएको थियो,तर आफ्नो एक भोट पनि नहालिकन राती नै निस्केर घर जानुभयो । सिपी मैनाली,मोहनचन्द्र अधिकारी,सानु श्रेष्ठ (पूर्व बाग्मती प्रदेश सभामुख) लगायत एउटा पंक्ति मदनको लाइनको विपक्षमा थियो भने पूर्व महासचिव झलनाथ खनाल बहुदलीय जनवादलाई “दक्ष प्रजापतिको टाउको” भनिराख्नुहुन्थ्यो ।

यही सेरोफेरोमा मदनले बहुदलीय जनवादवारे ब्याख्यासहित दृष्टिलाई एउटा अन्तर्वार्ता दिनुभयो । मैले नै लिएको अन्तर्वार्ता हो त्यो । मेरो अडियो उतारपछि आफैँले आएर त्यसमा सामान्य करेक्सन गर्नुभयो र बेलुका फोन गरेर जहाँ जहाँ बहुदलीय जनवाद छ,त्यसको अगाडि “जनताको” शब्द थप्न लगाउनुभयो । मैले यसरी भीमसेन राजवाहकलाई सिसाको अक्षरमा एक एक शब्द टिप्दै तयार पार्न लगाएको “कालीदासको क नपढी जनताको बहुदलीय जनवाद बुझिन्न” शीर्षकको त्यो अन्तर्वार्ता प्रकाशित भएको आजैजस्तो लाग्छ । पार्टीको आधिकारिक पूर्वप्रकाशन भइकन पनि प्रकाश साप्ताहिक महाधिवेशनताका सिपी मैनाली निकट भएर छापिन थाल्यो ।

र, मदनले नै आफ्नो अन्तर्वार्ता दृष्टि र दृष्टिको सहप्रकाशन सूर्य मासिकमा प्रकाशन हुने तयारीका वीच मोहनचन्द्र अधिकारी र सिपी मैनालीको पनि विचार लिएर सँगै छाप्नुहोला है,यसले सन्तुलन राख्छ,पेशागत मर्यादा देखिन्छ,यो पत्रिका एकपक्षीय छैन भन्ने पनि पुष्टि हुन्छ भन्नुभयो,मैले कहिल्यै नबिर्सने प्रसङ्ग हो यो । विजय सैँजु र मैले नै हो नक्सालको डेरामा उहाँले घाम ताप्दै,दृष्टि पढ्दै गरेको,खैरो कोट र कालो टोपीमा सजिएको तस्बिर खिचेको,जुन अहिले पनि प्रयोग हुन्छ बेला बेला । संयोगवश २०५० को वैशाखतिर उहाँ चीन जाने कुरा चल्यो ।

त्यतिबेला चिनियाँ कम्युनिस्ट पार्टीको चौथो वरियता क्रममा हुनुहुन्थ्यो हु चिन्ताओ,उहाँसँग पनि भेट गर्ने कार्यक्रम बन्यो । अमृत बोहरा,सानु मिश्र,हरि पाण्डे,माधवकुमार नेपाल,केपी ओली,मुकुन्द न्यौपाने,बाचस्पति देवकोटा,योगेन्द्र साहलगायतको टिम छनोट हुँदाखेरि मदनले पत्रकारको तर्फबाट मलाई पनि राख्नुभएको थियो । तर पछि के कारणले हो,म त्यसमा परिनँ (यसवारे धेरै कुरा अहिले नै उल्लेख गर्न चाहिन) । उताबाट खबर भने आइराख्थे फोनमा,हामी न्युज टिप्थ्यौँ,लेख्थ्यौँ र देशवासीलाई सुसूचित गर्थ्यौ । अहिलेजस्तो इमेल,फेसबुकको जमाना कहाँ थियो र जहाँ कहींबाट फ्याट्ट सेन्ड या पोस्ट गर्नलाई ! मदन चीनबाट फर्केपछि पोखरा हुँदै चितवन जाने कुरा भयो । जेठ १ गते उहाँ पोखरा जानुअगाडि बेलुका टेलिफोनमा अन्तिम संवाद भयो । सो यात्राको खबर नकसरी पठाउने त भन्ने कुरा उठ्दा उहाँले ड्राइभर अमर लामाले कार्यक्रम अवधिभर सँगै बसेर त्यसको टिपोट गर्ने र पछि फोनमा टिपाउने,अनि मैले त्यसआधारमा न्युज बनाउने सहमति भएको थियो ।

तर,अफसोच अमर लामाबाट आउने भनिएका महासचिव र सँगठन विभाग प्रमुख जीवराज आश्रितका गतिविधिसम्बन्धी समाचार जेठ ३ गते दिउँसो दासढुङ्गाबाट अर्कै रुपमा,प्रधान सेनापति गडुल समशेरबाट सुन्न पर्यो । त्यसपछिका प्रसंग त सबैसामु छर्लङ्गै छन् ।

उहाँ ठमेलको पिलग्रिम्स बुकस्टोरमा यस्तो किताब पाइन्छ,न्यूयोर्क टाइम्समा यस्तो सामग्री छापिएको छ,खोजेर ल्याइदिनु भन्नुहुन्थ्यो । ती आग्रहको लिखत मसँग सुरक्षित छ । उहाँले भनेका प्रायः सबै काम मैले इमानका साथ र मनैदेखि कार्यान्वयन गरेँजस्तो लाग्छ । एउटै गुनासो छ,त्यो भिजिटिङ कार्ड बनाएर लगिदिन नसकेको । कारक र कारण जेसुकै होस्,यत्ति जिम्मेवारी पूरा गर्न नसकेकोमा चाहिँ मलाई खेद छ,दुःख छ । घरिघरि लाग्छ,त्यति सानो काम पनि किन गर्न सकिनँ होला !

(जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको विचार सामाजिक सञ्जालबाट साभार ।)

प्रतिक्रिया दिनुहोस्