२२ बैशाख २०८२, सोमबार

विकल पौडेललाई दोषी ठहर, ४० करोड ७५ लाख हिनामिना भएको ठहर

कोलोराडोखबर संवाददाता , May 5th, 2025

नेपाल । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा पौडेललाई दोषी ठहर गरेको हो ।

अदालतले पौडलसहित म्याक्स इन्टरनेसनल कम्पनीका सिइओ अकबर हुसेनलाई पनि दोषी ठहर गरेको छ । कम्पनीमाथि पनि जरिबानाको फैसला भएको छ । अदालतले विकललाई दुई वर्ष र हुसेनलाई एक वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेल र हुसेनलाई कैद तथा जरिबानाको फैसला गरेको हो । अदालतले हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम खरिद प्रकरणमा भुक्तानी भएको ४० करोड ७५ लाख ५७ हजार ७४० रुपियाँ हिनामिना भएको ठहर गरेको छ ।

अदालतले ठहर रकमलाई जनही बिगो कायम गरेको छ, जस अनुसार कम्पनीसमेत गरी १३ करोड ५८ लाख ५२ हजार ५८० रुपियाँ बिगो कायम भएको छ । बिगो अनुसार जरिबानाको फैसला अदालतले गरेको हो । खरिद परियोजनामा कार्ड बेस्डका लागि ३० करोड र पेपर बेस्डका लागि ४६ करोड गरी ७६ करोड रुपियाँ विनियोजन भएको थियो । बजेट विनियोजन अनुसार छुट्टै खरिद प्रक्रिया अघि बढाउनुपर्नेमा एउटा खरिदमा दुवै बजेट खर्च गरेको पनि अदालतको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्