कविता-‘कामना: मृत्युपछिको’
-आर. आर. चौलागाईं-
जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले लेखेका अक्षरहरू
रहुन् मैले बोलेका आवाजहरू पनि
मैले टेकेका पदचापहरू पनि रहुन्
मैले लगाएका हस्ताक्षरहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।
जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले हेरेका दृश्यहरू
रहुन् मैले सुनेका गीतहरू पनि
मैले भोगेका कथाहरू पनि रहुन्
मैले थालेका अभियानहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।
जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले खिचेका तस्वीरहरू
रहुन् मैले कोरेका किरिङमिरिङहरू पनि
मैले देखेका सपनाहरू पनि रहुन्
मैले व्यक्त गरेका अभिलाषाहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।
जब म हुने छैन यो धरतीमा
तब पनि रहुन् मैले हिँडेका गोरेटाहरू
रहुन् मैले नाघेका फड्केहरू पनि
मैले पानी खाएका कुवाहरू पनि रहुन्
मैले वास बसेका पाटी र पौवाहरू पनि रहुन्
जब म हुने छैन यो धरतीमा ।
जब म हुने छैन...









