कविताः फूल र सर्प
–लालगोपाल सुवेदी–
जेलाई पनि डस्ने गर्छ सर्प
गुराँसका हाँगा हाँगामा वेरिन्छ सर्प
आकाशबेलीको लहरा लहरामा बेरिन्छ सर्प
सर्प जहिल्यै पनि बिष ओकल्ने गर्छ
तर फूल जहिल्यै सौन्दर्य बाँड्छ
जहिल्यै सुवास छर्छ
भर्खरै बिदा भयो वसन्त
भुँ भुँ गर्दै माहुरी आए
सायद
सरल हृदयका कविहरू हुन् माहुरी
तिनको अनुगुन्जन
भुँ भुँ हो कि ओम् ओम्
ती माहुरीहरूले
आफ्ना पवित्र गीतहरूद्वारा
जगत नै ओमकारमय बनाए
फूलको रस पिएथे माहुरीहरूले
फूलकै रस पियो सर्पले पनि
सर्पले बनायो बिख
माहुरीहरूले बनाए मह
कैयन औसधीय गुण हुन्छ महमा
माहुरीहरूले अमृत बनाए
सर्प भन्नु विषको थैलो
कर्मीहरूको सोचमा थिएन मैलो
कसैको मनमा भगवान्
कसैको मनमा श्राप
कोही भन्छन् गोमन
कोही भन्छन् काली नाग
सर्पलाई भुँ भुँ को गुन्जन व्यर्थ
सर्पलाई ओमकार सुनाउनुको के अर्थ
फूलले बाड्छ सौन्दर्य
फूलले सुवास छर्छ
के हो फूल ?
के हो सर्प ?
...









