कविता: म एउटा समुन्द्र
-लालगोपाल सुवेदी-
म एउटा समुन्द्र हुँ आफैभित्र
हेरिरहेछु ‘ प्रतीत्य समुत्पाद ‘ चित्र
छालहरू आइरहन्छन्
छालहरू गइरहन्छन्
निष्काम कर्मभाव हो स्वयम्मा पवित्र
म हेरिरहेछु आँखा नझिम्क्याई निर्निमेष
आउने जाने पात्रहरूको चरित्र
वल्लो किनार छ यथावत
पल्लो किनार छ उस्तै दुरुस्तै
यो आकाशजस्तो मन
सघन अन्घकारमा पनि
किरणहरूको बैंसालु ज्वारमा पनि
अटल छ, अविचल छ
न त तिकडम न त छल छ
धर्ती मेरी माता
आकाश मेरा पिता
खोलाहरू , खहरेहरू आऊ मसम्म
भुइँकुहिरो भएर , बादल भएर
र कहिलेकाहीं चट्ट्याङ भएर गर्जिए पनि
म पानी हुँ
कीतपतङ्ग, वृक्ष वनस्पति र समस्त प्राणीहरूको
जीवनकहानी हुँ
म फूलहरूमा रङ्ग हुन्छु
सुम्सुम्यायौ भने मलाई ढंगले
तरङ्ग , तरङ्ग, विद्युत् तरङ्ग हुन्छु
म तिम्रै गीतको संगति हुँ
तिम्रै नसा नसामा बगिरहेको रक्तलहर
जीवन र गति हुँ
म तिम्रो कवितामा नअटाएको कविता
गायौ भने रुद्रकण्ठले...









