३ आश्विन २०८१, बिहीबार

कविताः गायब रङहरूको खोजी

कोलोराडोखबर संवाददाता , December 29th, 2023

–शान्ति प्रियवन्दना–

उनका सपनाहरूको
अवसान भएकै बखत
खनियो ठूलो खाडल

गाडिए उनका सपनाहरू
त्यतिले नपुगेर
खाडलमाथि लगाइयो कङ्क्रिटको ढलान

संस्कार र रितका
बासी बतास
हुत्तिएर आए
उतारे उनको जीवनका रङहरू

तिनले बोकी ल्याएका थिए सेता गुराँस
त्यही पहिराइदिए उनलाई

शोकमा हिम्मतका रसायन मिसाएर
शक्ति आविष्कार गर्न
तुरुन्तै उनले
गाडिएका सपनाहरू
उत्खनन गरिन्

इन्द्रेणीको बान्कीबाट
गायब पारिएका रङहरू
एक–एक गरी खोज्दै छिन् उनी ।

–हेटौेंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्