७ मंसिर २०८३, सोमबार

भारतसँग भैरहवाको हवाई मार्ग दुबैतर्फ प्रयोग गर्न पाउने सहमति

कोलोराडोखबर संवाददाता , November 23rd, 2026

नेपाल । भारतसँग भैरहवाको हवाई मार्ग दुवैतर्फ प्रयोग गर्न पाउने सहमति भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको भारत भ्रमणका क्रममा भारतले भैरहवाका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन सहमति जनाएसँगै क्षेत्रीय पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको सम्भावना बलियो बनेको हो।

नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी मागअनुसार हाल एकतर्फी रहेको ‘बी–३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको छ। द्विपक्षीय छलफलपछि जारी संयुक्त वक्तव्यमा उक्त हवाई रुटलाई दुईतर्फी बनाउने विषय उल्लेख गरिएको छ। सहमतिअनुसार यससम्बन्धी प्राविधिक पक्ष, सञ्चालन मोडालिटी तथा नागरिक उड्डयनका अन्य प्रस्तावलाई टुंगो लगाउन दुवै देशका अधिकारीबीच थप परामर्श हुनेछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि सहज हवाई रुटको अभाव, प्राविधिक जटिलता र सञ्चालन खर्चका कारण अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन सकेको थिएन। यस अवधिमा फ्लाई दुबई, थाई एयर र जजिरा एयरजस्ता कम्पनीले भैरहवाबाट उडान सुरु गरे पनि दीर्घकालीन रूपमा नियमित हुन सकेनन्। सीमित प्रवेशमार्गका कारण अन्तर्राष्ट्रिय विमान कम्पनीलाई उडान योजना बनाउन तथा समय र दूरी व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको थियो।

हवाई रुटसम्बन्धी सहमति जुट्नुअघि नै रुपन्देही क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य पूनमकुमारी अग्रवालले भैरहवामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणबाट विमानस्थलबारे छिट्टै ‘गुड न्यूज’ आउने संकेत गरेकी थिइन्। संसदमा पाँच पटकसम्म विमानस्थल सञ्चालनबारे आवाज उठाइसकेकी उनले भौतिक पूर्वाधारसँगै हवाई रुट, प्राविधिक सहजता र व्यावसायिक वातावरण बनेमा विमानस्थल पूर्ण क्षमतामा चल्ने बताएकी थिइन्।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले दोहोरो हवाई मार्गको सम्झौताले लुम्बिनी प्रदेशमात्र नभई समग्र पश्चिम क्षेत्रको पर्यटन, होटल, यातायात र स्थानीय अर्थतन्त्रमा उत्साह थपेको बताए। “दुई देशबीचको यो सम्झौताको हामी स्वागत गर्छौँ, अब यहाँ नियमित उडान हुनुपर्छ र त्यसका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार छ,” उनले भने। यद्यपि, विमानस्थलमा ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रयोग गर्दा भारतीय आकाश प्रयोग हुने भएकाले त्यस विषयमा पनि स्पष्ट सहमति जुट्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्।

एक दशकदेखिको कूटनीतिक प्रयासपछि हवाई रुटमा जुटेको यो सहमतिले विमानस्थलमा भएको ठूलो लगानीलाई व्यावसायिक प्रतिफलमा बदल्ने बाटो खोलेको छ। अब प्राविधिक मोडालिटी छिटो टुंग्याएर अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्दै उडान नियमित बनाउनु नै मुख्य प्राथमिकता हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्