२३ बैशाख २०८१, आईतवार

नेपाल अमेरिका पत्रकार संघको स्थापना दिवसमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन

कोलोराडोखबर संवाददाता , April 24th, 2024

बोस्टन । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा अमेरिकाको बोस्टनमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

समुदायसंगसंगै ‘नेजा’ भन्ने मूल उद्घोषका साथ आयोजना गरिएको कार्यक्रमको मुख्य उद्देश्य नेजा र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, विश्व शान्तिको कामना गर्दै शुभकामना आदानप्रदान गर्ने र सहभागीहरुबाट अमूल्य सुझावहरु लिने रहेको थियो ।

कार्यक्रम गत अप्रिल २१ तारिख आइतवारका दिन 594 Washington Street, Braintree स्थित नेपाली समुदायको सामुदायिक भवनमा सम्पन्न भएको हो। कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु एवम् सामाजिक तथा धार्मिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

तस्बिर सौजन्य : सुरेन्द्र नापित

कार्यक्रमको पहिलो चरण अन्तर्गतको शुभकामना आदानप्रदान कार्यक्रममा नेजाका उत्तरपूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा औचित्यका बारेमा प्रकाश पारेका थिए । उनले नेजाको पृष्ठभूमिसहित स्थापना दिवसका बारेमा संक्षिप्त जानकारी दिदै संस्थाको तर्फबाट स्थापना दिवस र नेपाली नयाँ वर्ष २०८१को सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

सम्बोधनका क्रममा क्षेत्रीय संयोजक बस्नेतले आगामी मे २५ र २६ तारिख (शनिवार र आइतवार) बोस्टनमा हुन गइरहेको १७औं वार्षिक साधारणसभाको तयारीका सम्बन्धमा जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सबैको साथ सहयोगको अपेक्षा गरे ।

शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले नेजा स्थापना दिवससंगै नेपाली नयाँ वर्ष २०८१ को पनि शुभकामना व्यक्त गरेका थिए । उनीहरुले समुदायको भलोका लागि नेजाले खेल्दै आएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले आगामी मे २५ र २६ मा बोस्टनमा हुन गइरहेको नेजाको १७औं साधारणसभा नेपाली समुदायकै लागि गौरव र अवसरको विषय भएको बताउदै त्यसलाई सफल बनाउन सक्दो साथ सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएलगतै पशुपतिनाथ तथा बुद्ध मन्दिरमा जगत भलो र विश्व शान्तिको कामना गर्दै नेजाका उत्तरपुर्व संयोजक सुपेन्द्र बस्नेतलगायत सहभागीहरुले दीप प्रज्वलनसहित प्रार्थना गरेका थिए । धार्मिक कर्म दीप प्रज्वलनलाई विधिपूर्वक सम्पन्न गर्न मन्दिरका पुरोहित पण्डित गोकुल कंडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साँझ पख सहभागीहरु र श्रध्दालु भक्तजनहरुले उक्त दीप प्रज्वलनसंगै आरती एवम् भजनकीर्तन गर्नुका साथै पूजापाठ गरेर भगवानहरुप्रति श्रध्दा अर्पण गरेका थिए ।

जगत भलो र विश्व शान्तिको कामना गर्दै नेजा उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतसहित सहभागीहरु। (तस्बिर सौजन्य : सुरेन्द्र नापित)

पहिलो चरण अन्तर्गतको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपतिनाथ बुद्ध फाउण्डेशनका बोर्ड अफ ट्रष्टिज् अध्यक्ष सुशील पौडेल, कार्यसमितिका अध्यक्ष बिरोचन नेपाल, पूर्व अध्यक्ष विष्णुमणि आचार्य, संरक्षक शिव कुमार श्रेष्ठ, उपाध्यक्ष मिलनकुमार कार्की, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष महेश्वर पन्त, हिमालयन लायन्स क्लबका नव निर्वाचित अध्यक्ष थानीरत्न कंडेल, मेट्रो वेष्ट नेपाली कम्युनिटीका अध्यक्ष सुरेश ढकाल, नरउड लायन्स क्लबका अध्यक्ष जल घिमिरे, ग्रेटर बोस्टन नेपाली कम्युनिटीका उपाध्यक्ष चिरञ्जीवी आचार्य, महासचिव सोनाम शेर्पा, कोषाध्यक्ष प्रकाश खड्का, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरकी सचिव सलोनी भण्डारी, ओएनए अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीम प्रकाश ओली, एनडब्लुजिएन, अमेरिकाकी पूर्वअध्यक्ष तथा बोस्टन च्याप्टरकी सल्लाहकार रुक्मिणी कार्की, नेपाली क्लास बोस्टनका स्वयंसेवक शिक्षक परशुराम फुयाल, स्वयंसेवक पर्निका फूयाल, वरिष्ठ पत्रकार निर्मल अर्याल, बोस्टन लोक सुसेलीका सदस्य सुशील गौतम, सामाजिक व्यक्तित्वहरु विजय शर्मा, डाक्टर विष्णु जोशी, प्रेम पौडेल, भीमप्रसाद पाध्याय, लभ अधिकारी, सुरेन्द्र नापित, शिवराज मिश्र, लक्ष्मी आचार्य फुयाल, राधादेवी आचार्य, राम शंकर गौतमलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्