२३ बैशाख २०८१, आईतवार

कोलोराडोमा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नेपाल डे परेड’ सम्पन्न (फोटो फिचर)

कोलोराडोखबर संवाददाता , April 22nd, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयांबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् ।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजना, हेल्पिङह्याण्डको सहयोग तथा स्थानीय सबै संघ संस्थाको सहभागितामा बोल्डर नगरमा “नेपाल डे परेड” सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्डर नगरका मेयर आरोन ब्रकेटको उपस्थिती रहेको थियो । त्यस्तैगरी स्थानीय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, बुद्धीजीवी, कलाकार, पत्रकार, व्यवसायी तथा नेपालीभाषी आमाबुबा, दाजुभाई दिदीबहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

भौगोलिक हिसावले नेपालसंग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमे बाजाको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास र मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेषभूषा संस्कृती झल्कने पहिरन लगाएर आएका थिए । अमेरिकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो ।

बालक बृद्ध सबै उमेर समूहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरिकी नागरिकहरुको पनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका स्थानीय दर्शकहरुले हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ–आफ्नो दौतरीसंग आफ्नो रिती र परम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।

कार्यक्रमका बिशेष अतिथि स्थानीय बोल्डर शहरका मेयर आरोन ब्रकेटले सबैलाई ह्याप्पी न्यूयर भन्दै, बोल्डर शहरमा सबैलाई स्वागत गरे । उनले यती धेरै नेपालीहरु जम्मा भएर मातृ भुमीको पहिचाहनको लगी जुटेको देख्दा ज्यादै खुशी लागेको भन्दै यो कार्यक्रम हरेक बर्ष निरन्तर रहिरहने बताए । त्यस्तैगरी उनले गत फेब्रुवरीमा नेपाल भ्रमण गरी काठमाडोंका मेयर बालेन साहसंग भेटी बोल्डर सीटी र काठमाडौं एक आपसमा सिस्टर सिटीमा आबद्धताको हस्ताक्षर गरेको भन्दै खुसी ब्यक्त गरे । यसबाट एक आपसमा भाषा संस्कृती आदान प्रदानमा टेवा पुर्याउने धारणा राखे ।

यसैगरी आयोजक संस्थाका अध्यक्ष अर्जुन बगालेले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । त्यस्तै उनले यस कार्यक्रम आयोजना गर्न पहल गर्ने हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठलाई बिशेष धन्यवाद दिए ।

कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टीको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नयांबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड” कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो सूचीकृत कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्