२१ बैशाख २०८१, शुक्रबार

बोस्टन नेपाली कम्युनिटीद्वारा ‘बैशाखी साँझ’ भव्यताका साथ सम्पन्न

कोलोराडोखबर संवाददाता , April 17th, 2024

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका । अमेरिकाको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीद्वारा आयोजित ‘बैशाखी साँझ–२०८१’ भव्यताका साथ सम्पन्न भएको छ ।

विशेष सांगीतिक कार्यक्रमसहितको उक्त बैशाखी साँझ गत अप्रिल १३ तारिख शनिवार साँझ सम्पन्न भएको हो ।

नेपाली पात्रोअनुसार नयाँ वर्ष बिक्रम संवत् २०८१ शुभारम्भ भएको अवसर पारेर नेपालीपन र पहिचानलाई जोगाइ राख्न सक्दो योगदान पुर्याउने, आपसमा संगठित हुने, समुदायको सदस्यहरुकाबिच भाइचाराको आत्मीय सम्बन्धलाई कसिलो बनाउने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै सांगीतिक माहोलमा रमाउने मुख्य उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । साँझ ७ बजेबाट सुरु भएको कार्यक्रममा सहभागी भएका न्यू इङ्ल्याण्डवासी प्रवासी नेपालीहरुले नेपाली नयाँ वर्ष हर्षोल्लासका साथ मनाए ।

कार्यक्रमलाई दुइ चरणमा बाँडेर सञ्चालन गरिएको थियो । कार्यक्रम तालिका अनुसार पहिलो चरण नेपाली नयाँ वर्ष–२०८१ को शुभकामना आदानप्रदान गरिएको थियो ।

चर्चित गायक कृष्ण काफ्ले स्थानीय कलाकार सुशीला बस्नेत तिमल्सिनासंग मञ्च साझा गरेर गीत गाउदै ।

जिबिएनसीका महासचिव सोनाम शेर्पाले सहभागीहरुलाई स्वागत् गर्दै कार्यक्रमको उद्देश्यका बारेमा संक्षिप्त जानकारी गराएर कार्यक्रमको प्रारम्भ गरेका थिए भने संस्थाकी अध्यक्ष अञ्जु थापाले आगन्तुक अतिथिहरु, पाहुनाहरु, कलाकारहरु, सहभागीहरु लगायतलाई संस्थाको तर्फबाट स्वागत् गरेकी थिइन् ।

कार्यक्रममा नेपालको राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गान गाएर जन्मभूमि र कर्मभूमिप्रति श्रध्दा अर्पण गरिएको थियो । शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलेसमेत नेपाली नयाँ वर्ष–२०८१को शुभकामना व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए ।

पहिलो चरणको कार्यक्रम सकिए लगतै दोश्रो चरणको सांगीतिक कार्यक्रम सुरु भएको थियो । जसको सञ्चालन गर्ने जिम्मेवारी अस्मी पोख्रेल र सजना अधिकारीले संयुक्तरुपमा सम्हालेका थिए । सांगीतिक कार्यक्रमको पहिलो कोसेलीका स्वरुप कलाकारद्वय साध्वी कार्की र सरन्य निरौलाले ‘दुई चुल्ठी बाटेर, सोह्र साल काटेर ‘बोलको गीतमा आकर्षक नृत्य गरेका थिए ।

कलाकारद्वय साध्वी कार्की र सरन्य निरौला ‘दुई चुल्ठी बाटेर… गीतमा नृत्य प्रस्तुत गर्दै। तस्बिर सौजन्य : सुरेन्द्र नापित।

त्यसपछि, स्थानीय कलाकारहरु बिराज गुरुङ, सुशीला बस्नेत तिमल्सिना, संयक अधिकारी, पूजा घिमिरे, प्रबिन राजथला, काइजेन (सिकुम लिम्बु) , निर्मल कार्कीलगायत कलाकारहरुले आफ्नो जोडदार प्रस्तुति दिएका थिए।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रका चर्चाको शिखर चड्दै गरेका उदयमान गायक कृष्ण काफ्ले र गायिका परिजिता बास्तोला सांगीतिक कार्यक्रमको मूख्य आकर्षण रहेका थिए । मञ्चमा आफ्नो प्रस्तुति दिन पहिला बास्तोला मञ्चमा उत्रिएकी थिइन् । आफ्ना तीन बाद्यवादक सहकर्मीहरुसहित बास्तोला मञ्चमा उत्रिदा, सहभागीहरुले हर्षोल्लासका साथ स्वागत् गरेका थिए । जवाफमा उनले पनि बहुचर्चित रियालिटी शो ‘द भ्वाइस’को अमेरिकन संस्कणका दौरानमा बोस्टनबासीहरुले दिएको साथ र गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै धन्यवाद दिएकी थिइन्। उनले सहभागीहरुको मनोभावना अनुसार नेपाली र अंग्रेजी भाषाका गीतहरु गाएकी थिइन् । उनले तिम्रो लागि सारा संसार‘, केही मिठो बात गर, ‘तिम्रो लागि’ लगायत गीतहरु गाउँदा सहभागीहरु उनलाई साथ दिदै निकै रमाएका थिए ।

गायिका परिजिता बास्तोला प्रस्तुति दिदै।

सांगीतिक कार्यक्रमको अन्तिम चरणमा गायक कृष्ण काफ्लेले आफ्नो प्रस्तुति दिएका थिए । खास गरी युवा पुस्ताको मन जितेर चर्चाको शिखरमा चड्दै गरेका काफ्ले मञ्चमा उत्रने बितिकै सहभागीहरुमा निकै खुशी छाएको थियो । उनले स्थानीय गायिका सुशीला बस्नेत तिमल्सिनाको साथमा आफ्नो बहुचर्चित गीत ‘सके हसाउँछु, नसके तिमीलाई रुन दिन्न’ गाएर सहभागीहरुको ध्यान खिचेका थिए। प्रस्तुतिका क्रममा उनले ‘पर्ख पर्ख मायालु, देख्न चम्पा, तिम्रो पिक्चर हिट जस्ता चर्चित गीतहरु गाएका थिए ।

कार्यक्रमका मुख्य आकर्षण कृष्ण काफ्ले प्रस्तुति दिदै ।

मनोरञ्जनको कुण्डमा डुबेर आनन्द लिइरहेका सहभागीहरुले काफ्लेलाई पटक पटक ‘वान्स मोर’ भन्दै प्रस्तुतिलाई निरन्तरता दिन अनुरोध गरिरहेका थिए । सहभागीहरुको भावनाको कदर गर्दै काफ्लेले पनि डिजे सन्दिप भट्टराईको सहयोगमा नयाँ स्वादमा तयार गरिएका म्युजिक ट्र्याकहरुमा चर्चित नेपाली लोक गीतहरु गाएका थिए । नचाहदा नचाहदै समयको पावन्दीका कारण साढे ११ बजे आफ्नो प्रस्तुतिमा पूर्णबिराम दिन काफ्ले बाध्य भएका थिए । कार्यक्रमका दौरानमा आयोजकले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गायक कृष्ण काफ्ले, गायिका परिजिता बास्तोलालगायत अन्य स्थानीय कलाकारहरुलाई पनि प्रशंसापत्र प्रदान गरेको थियो ।

आयोजकले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। जिबिएनसीका महासचिव सोनाम शेर्पाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिदै खुशी व्यक्त गरे । उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रतक्ष्य सहयोग गर्ने सबैलाई संस्थाको तर्फबाट धन्यवादसमेत दिए ।

कार्यक्रम सञ्चालकद्वय अस्मी पोख्रेल र सजना अधिकारी उद्घोषणको जिम्मेवारी सम्हाल्दै।

करिब चार सय हाराहारीको संख्यामा सहभागीहरु रहेको कार्यक्रमलाई मोर्गेज किङ्स, न्यूयोर्क लाइफ इन्सुरेन्स, वनेष्ट, सिटी रियालिटी, इन्साइट् मोर्गेज क्रप, इ एण्ड एन सर्भिसेस् इन ,आएला हिमालयन बार एण्ड ग्रिल, चौबन्दी बुटिक, Berkshire Hathaway home services र Verani Realty ले प्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्