काठमाडौं । ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ मा चेतनाथ आचार्यद्वारा लिखित ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम स्थान हासिल गरेका आचार्यले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बाह्रखरी मिडियाद्वारा आइतबार काठमाडौंमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले लेखक आचार्यलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरे ।
प्रतियोगितामा मधुर भट्टराईद्वारा लिखित ‘सपनाको अर्को रङ्ग’ शीर्षकको कथा द्वितीय भएको छ । कथाका लेखक भट्टराईलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो ।
सरस्वती सरसद्वारा लिखित ‘अस्तित्वको अल्गोरिदम’ शीर्षकको कथा तृतीय भएको छ । लेखक सरसलाई नगद ६० हजार, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ ।
आठौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा, २०८३’ लोकार्पण पनि गरियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्