नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो ।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । त्यसैगरी मोइन अली र हरमित सिंहले समान १९ रन बनाए भने जेम्स निसमले १५ रन जोडे । मयन यादवले १४ तथा अनिल शाहले ११ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफले ३७ रनको योगदान दिए । उनले ३७ बलमा तीन छक्का प्रहार गरे । दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुल्सन झाले १२ रन जोडे ।
जनकपुर बोल्ट्सका बलर हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए । राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले पनि २ विकेट हात पारे । ललित राजवंशीले १ विकेट लिए ।
यसैबीच, एनपिएल ३ मा चितवन राइनोजले मङगलबार विराटनगर किङ्सलाई आठ रनले हराएर विजयी सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा प्रतिस्पर्धात्मक १५७ रनको स्कोर तयार पारेको थियो । वेस्ट इन्डिजका सुपरस्टार अलराउन्डर आन्द्रे रसेलको विस्फोटक पालि हुँदाहुँदै विराटनगर किङ्स जवाफमा तीन बल अघि नै १४९ रनमा समेटियो ।
चितवनको पालि इङगल्यान्डका प्रारम्भिक ब्याट्सम्यान डेभिड मलानको अर्धशतकीय पालिले राम्रो भएको हो । उहाँ एनपिएल ३ मा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि बन्नुभयो । मलानले ७० रनको उत्कृष्ट पालि खेल्नुभयो । ५० बलको सामना गरी पाँच चौका र पाँच छक्का प्रहार गरेपछि मलान वेस्टइन्डिजका रसेलको बलिङमा बोल्ड हुनुभयो ।
यसैगरी इङगल्यान्डका दुई ब्याट्सम्यन रवि बोपारा र डान माउस्लीले चौथो विकेटका लाग अविजित ६७ रनको साझेदारी निर्वाह गर्नुभयो । बोपाराले २६ बलमा एक चौका र दुई छक्कासहित ३२ र माउस्लीले २२ बलमा दुई चौका प्रहार गरेर २९ रन बनाउनुभयो । चितवनका घरेलु खेलाडी ब्याट्सम्यानहरुले निराश पारे । प्रारम्भिक ब्याट्सम्यान देव खनाल १५ बलमा १२, अर्जुन साउद ९ बलमा तीन रन बनाएर आउट हुनुभयो ।
विराटनगरले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको थियो । प्रारम्भिक ब्याट्सम्यानद्वय लोकेश बम र इमरान शेखले ४।३ ओभरमै ४० रन बटुलेपछि विराटनगरले राम्रो सुरुआत पाएको हो । लोकेश १४ बलमा चार चौका र एक छक्का प्रहार गरी २६ रनमा आउट हुनुभयो । इमरानले ३१ बलमा सर्वाधिक ३९ रन बनाउनुभयो ।
उहाँको पालिमा चार चौका र दुई छक्का सामेल थियो । श्रीलङ्काका असलन्का ९८ रन, म्याथ्युज ९१४ रन र बसिर अहमद ९१३ रन ले सुरुआत पाएर पनि त्यसलाई म्याच जित्ने पालिमा बदल्न सक्नुभएन । यद्यपि रसेलले चार छक्का र एक चौकासहत १७ बलमा ३३ रन बनाएपछि विराटनगर जिततर्फ अग्रसर थियो ।
चितवनका बलरहरुले अन्तिम समयमा शानदार बलिङ गरेपछि एक समय चार विकेटको क्षतिमा १३२ रनको स्थितिमा रहेको विराटनगर १९।३ ओभरमा अलआउट भयो । शुभम रञ्जनले अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गरेर खेल रोचक बनाउनुभएको थियो तर दुई बलपछि उहाँ बोल्ड हुनुभयो र चितवनले रोमाञ्चक जित हात हार्यो।
विराटनगरको पालिमा चार ओभरमा २६ रन खर्चेर सर्वाधिक चार विकेट लिने चितवनका तेज बलर कमलसिंह ऐरी म्यान अफ दि म्याच बन्नुभयो । यसैगरी रिजन ढकालले दुई तथा टम टेल, रञ्जित कुमार, माउस्ली र मोस्म ढकालले एक–एक विकेट लिनुभयो । चितवनका लागि प्रयोग भएका सबै बलर विकेट लिन सफल भएका हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्