-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैं तथा तिहारको अवसरमा कोलोराडो स्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN) ले विशेष दशैं–तिहार शुभकामना साँझ कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाली संस्कृति, परम्परा र आपसी एकतालाई निरन्तरता दिने उद्देश्यले RMFN ले हरेक वर्ष आयोजना गर्दै आएको दशैं–तिहार कार्यक्रम यस वर्ष पनि आगामी नोभेम्बर १ तारिक आइतबार साँझ भव्य रूपमा आयोजना गर्न लागेको हो।
कोलोराडो स्थित सबै संघ संस्थाको सहभागीतामा वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा साँझ ५ बजेदेखी आयोजना हुने कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रश्तुती रहने रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष हरी गुरूङले बताएका छन् ।
RMFN ले दशैं–तिहारलाई नेपाली समुदायबीच भेटघाट, शुभकामना आदानप्रदान, आपसी सद्भाव र एकता सुदृढ गर्ने अवसरका रूपमा लिएको प्रश्ट्याउदै संस्थाले सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य, तथा नेपाली भाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाइ परिवारसहित कार्यक्रममा सहभागी भएर पर्वको खुसी साट्न आग्रह गरेको छ।
दशैं–तिहार शुभकामना साँझको मुख्य आकर्षणका रूपमा लोकप्रिय लोकगायक कुलेन्द्र विश्वकर्माको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ। उनले आफ्ना लोकप्रिय गीतमार्फत कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूको समेत विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। कुलेन्द्र विश्वकर्माका लोकप्रिय गीतसँगै स्थानीय कलाकारहरूको प्रस्तुतिले दशैं–तिहारको सांस्कृतिक माहोललाई थप उत्सवमय बनाउने विश्वास गरिएको छ।
मातृभुमी नेपालको पर्वतमा जन्मिएका लोकप्रिय लोक तथा लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा नेपाली लोकसंगीतका चर्चित नाम हुन्। ‘सालको पातको टपरी हुनी’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाऊ है सानु पँधेरीमा’ जोगीको भेषैमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’
लोकप्रिय गीतमार्फत दर्शक–श्रोतामाझ परिचित विश्वकर्माले २,५०० भन्दा बढी गीतमा स्वर दिइसकेका छन्। विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका उनी सांगीतिक रियालिटी शोका निर्णायकसमेत रहिसकेका छन्।
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN) कोलोराडोमा रहेका नेपाली भाषी समुदायको पुरानो तथा अग्रणी सामाजिक संस्था हो। संस्थाले स्थापना कालदेखि नै नेपाली संस्कृति, भाषा, परम्परा तथा सामाजिक सम्बन्धलाई प्रवर्द्धन गर्ने विभिन्न गतिविधि गर्दै आएको छ।
दशैं–तिहार लगायत नेपाली चाडपर्वका अवसरमा संस्थाले हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमले कोलोराडोमा रहेका नेपालीहरूलाई एउटै थलोमा भेला भएर आफ्नो संस्कृति र परम्परासँग जोडिन तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउन सहयोग पुर्याउँदै आएको आयोजकको दावी छ।
दशैं–तिहार शुभकामना साँझलाई सफल बनाउन समुदायका सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेकोले कार्यक्रममा सहभागी भएर शुभकामना आदानप्रदान गर्दै परिवार तथा साथीभाइसँग दशैं–तिहारको खुसी साट्न अध्यक्ष गुरूङले सबैलाई अनुरोध गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्