नेपाल । भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि आवश्यक थप सहायता परिचालनलगायत विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आइतबार संयुक्त राज्य अमेरिका पुग्नुभएको छ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार वासिङ्टन डिसीमा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट (सेक्रेटरी अफ दी ट्रेजरी) र विश्व बैङ्क समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस क्रममा पुनर्निर्माणसहित नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै हालै भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैङ्क तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
छलफलमा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफएटिएफको ‘गे्र’ सूचीबाट बाहिरिने र नेपालको बहृत् आर्थिक सुधारका विषयमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ । सहकारी क्षेत्रको कमजोर नियमन, कानुनी तथा संरचनागत कमजोरीलगायतका विषय देखाउँदै एफएटिएफले नेपाललाई ‘ग्रे’ सूचीमै राखेको छ । यसमा पनि सुधार नआए कालो सूचीमा पर्न सक्ने जोखिम रहँदै आएको छ ।
अर्थ मन्त्रालयले उक्त जोखिम घटाउन विभिन्न पाँच वटा सुधारका प्याकेजको घोषणा गरेको छ । त्यस अन्तर्गत ‘गे्र’ सूचीबाट बाहिरिने योजनालाई मन्त्रालयले प्राथमिकतामा राखेको छ । खास गरी विश्व बैङ्कसँगको भेटमा यससम्बन्धी विस्तृत छलफल हुने पनि मन्त्रालयले जनाएको छ ।
यसबाहेक अर्थमन्त्रीको अमेरिका भ्रमणमा सडक, विद्युत् प्रसारण लाइनलगायतका महìवपूर्ण पूर्वाधारमार्फत मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने प्रयास पनि हुने मन्त्रालयले उल्लेख गरेको छ । यसबाहेक अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्दै आएको अमेरिकी सरकार अन्तर्गतको ‘इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डिएफसी) का उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जानकारी दिएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्