१३ आश्विन २०८३, मंगलवार

गद्य शैलीमा रचित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 29th, 2026

नेपाल । मैथिली भाषाको गद्य शैलीमा रचित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

पुल्चोक इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले कृति सार्वजनिक गरे ।

करिब १ लाख २१ हजार बढी शब्द र ६१३ पृष्ठमा तयार ग्रन्थमा महाभारतका १८ वटै पर्व समेटिएको जनाइएको छ । मैथिली लोकभाका तथा मिथिला चित्रकलासमेत समावेश गरिएको यस कृतिका प्रकाशक विनयकुमार झा र सम्पादक प्रेमनारायण झा रहेका छन् ।

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि पूर्वउपराष्ट्रपति झाले मैथिली भाषाभाषीका लागि यो ऐतिहासिक तथा उपयोगी ग्रन्थ भएको बताए । उनले महाभारतजस्तो गहन ग्रन्थलाई सरल र सहज मैथिली गद्यमा प्रस्तुत गरेकोमा कृतिकार अर्चना झालाई साधुवाद दिए ।

उनले महाभारतलाई ‘पाँचौँ वेद’का रूपमा समेत लिइने उल्लेख गर्दै यो ग्रन्थ मैथिलीभाषीको घर–घरमा पुग्नुपर्ने धारणा राखे ।

पशुपतिनाथ मन्दिरका मूलभट्ट ९अर्चक० रावल गणेश भट्टले मैथिली भाषा, संस्कृति र धर्मको संरक्षण तथा प्रवर्धनमा ग्रन्थले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले विश्वमा महाभारतको स्थानबारे चर्चा गरे ।

कृतिकार अर्चना झाले गहन अध्ययन, अनुसन्धान, मनन र साधनापछि महाभारतलाई आफ्नै शैलीमा सरल, सहज र पठनीय मैथिली गद्यमा प्रस्तुत गरेको बताइन् । उनले कृति कुनै पुस्तकको हुबहु अनुवाद नभएको स्पष्ट पारिन् ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद नितिमा कार्की, प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य रुपा झा, विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष अरुणकुमार पाण्डे, विश्लेषक सीके लाललगायतले आफ्ना धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्