३१ भाद्र २०८३, बुधबार

मुस्ताङमा देशभरका दुई हजारभन्दा बढी जनप्रतिनिधि भेला

कोलोराडोखबर संवाददाता , September 16th, 2026

नेपाल । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका दुई हजारभन्दा बढी जनप्रतिनिधि भेला भएका छन् । जिल्लाको घरपझोङ गाउँपालिकाको आयोजनामा देशभरका ४३१ स्थानीय तह र ४१ जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मञ्चमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनुभयो ।

मङ्गलबारदेखि सदरमुकाम जोमसोममा आयोजना गरेको जलवायु सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको मुद्दा नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा राख्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “जलवायु परिर्वतले हिमालदेखि तराईसम्म असर गरेको छ, अब माटो सुहाउँदो अनुकूलन र वातावरण संरक्षणका कार्यक्रसँगै जोखिम न्यूनीकरणका प्रविधिमा केन्द्रित हुन्छौँ ।”

मन्त्री चौधरीले भोटेकोशी बाढीले पुर्‍याएको नोक्सानीलाई अन्तर्राष्ट्रिय मुद्दा बनाएर प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधनसहित तथ्य प्रस्तुत गर्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “रसुवामा भएको विनाशकारी बाढीबाट जनधनको क्षति अब रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायको दीर्घकालीन साथ चाहिन्छ, अब नोक्सानीको क्षतिपूर्ति दाबीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा गर्नुपर्ने पहल कदमबारे सरकारले सबै तयारी गरेको छ ।”
सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा कृषि, पशुपालन, पर्यटनसँगै बसाइँसराइमा गम्भीर असर गरेको बताउनुभयो । सांसद गौचनले भन्नुभयो, “चार दशक अगाडिदेखिको लापर्बाहीको असर हिमाली क्षेत्रमा जोखिम भोग्नु परेको छ, जलवायु परिवर्तनका कारण मानवीय र भौतिक पूर्वाधारमा मात्रै क्षति पुगेको छैन, भाबी पुस्तालाई समेत गम्भीर असरको सङकेत हो ।’’

मुस्ताङमा देखिएका जलवायुजन्य समस्यालाई स्थानीय मुद्दाका रूपमा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत उठाउन ‘जलवायु सम्मेलन’ आयोजना गरिएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण मुस्ताङमा प्राकृतिक सन्तुलन बिग्रिनुका साथै हिमनदी पग्लिएर बनेका हिमताल ठुलो र अस्थिर बन्दै गएका विभिन्न अध्ययनले देखाएको छ । यसबाट पानीको स्रोतमा अस्थिरता, औसतभन्दा बढी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्दो छ । जसका कारण खानेपानीको अभाव भइ बसाइँसराइ बढ्ने जस्ता धेरै समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्