३१ भाद्र २०८३, बुधबार

हालसम्म एक हजार ३९९ जनाको शव फेला, पाँच हजार १७९ जना सम्पर्कविहीन

कोलोराडोखबर संवाददाता , September 16th, 2026

नेपाल । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । बाढीपश्चात् अझै पाँच हजार १७९ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ सार्वजनिक गरेको विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म फेला परेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि ‘डिएनए’ परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाले बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्