नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन कुनै पनि नेता तथा कार्यकर्तालाई वञ्चित नगरिएको बताएका छन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले महाधिवेशनमा सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताए । उनले महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै सम्पन्न हुने दाबी गरे ।
उनका अनुसार असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया शुरू हुनेछ भने असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुनेछ ।
थापाले महाधिवेशनमा प्रतिस्पर्धा हुने र प्रतिस्पर्धाबाट जिम्मेवारी प्राप्त गर्ने नेता नेतृत्वमा रहने बताए । जिम्मेवारी नपाउने नेताहरूलाई समेत समेटेर महाधिवेशनपछि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए ।
महाधिवेशनले पार्टीभित्रका समस्या व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु कांग्रेसको मुख्य चुनौती रहेको थापाले बताए । महाधिवेशनपछि कांग्रेसले नागरिकसँगको सम्बन्ध पुनःस्थापित गर्न देशव्यापी अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।
दसैँलगत्तै ७७ ओटै जिल्ला, गाउँ(गाउँ पुगेर नागरिकसँग संवाद गर्ने कार्यक्रम अघि बढाइने उनको भनाइ थियो । पार्टीभित्र देखिएका समस्यामै अल्झिरहँदा नागरिकसँगको सम्बन्ध झनै कमजोर हुने भएकाले यस विषयमा कांग्रेस गम्भीर रहेको थापाले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्