१४ भाद्र २०८३, आईतवार

हरि थापाको नयाँ कथाकृति ‘मभित्रको ऊ’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , August 30th, 2026

नेपाल । कथाकार हरि थापाको नयाँ कथाकृति ‘मभित्रको ऊ’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

हालै काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार मञ्जु काँचुलीले कृति लोकार्पण गर्दै नेपाली कथा लेखनको चर्चा गरिन् । उनले कथा सबै थोक भएको बताउँदै समाजलाई विखण्डित तुल्याउने कथा नलेख्न कथाकारहरूसँग आग्रह गरिन् ।

समीक्षक डा. दीनबन्धु शर्माले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै थापाको यो कृति सामाजिक यथार्थवादी कथाहरूको सँगालो भएको बताए । उनले कृतिकारलाई केही सुझावहरू पनि दिँदै कृतिभित्रका कथाहरूको बृहत् चर्चा गरे ।

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कथाकार थापा सर्जक मात्र नभएर नेपाली कथा लघुकथाको उन्नयनमा साधकको सम्मान गर्ने साहित्यसेवी पनि भएको बताए ।

साहित्यकार पवन आलोकले थापाले कथाका साथै सयात्रा पनि लेख्दै आएको उल्लेख गरे । कृतिकार थापाले कथा लेखनको प्रसंग उठाउँदै समीक्षकबाट आएका सुझावलाई शिरोपर गर्ने बताए ।

नेपाल स्रष्टा समाज, बागमती प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा संयोजक शंकर भारतीले पाठकमाझ एउटा गहकिलो कथाकृति आएको बताए ।

प्रतिक्रिया दिनुहोस्