५ भाद्र २०८३, शुक्रबार

निर्वाचनमा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सधैँ कायम रहन्छ भन्ने सोच गलतः गगन

कोलोराडोखबर संवाददाता , August 21st, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै निर्वाचनमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सधैँ कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन् ।

नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।

उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त संख्या मात्रै पर्याप्त नहुने बताए । जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।

तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग आफूले पटक–पटक असहमति तथा चिन्ता राखेको स्मरण गर्दै उनले त्यसबेला आफूहरूले देखेका समस्या र दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिएको दाबी गरे ।

थापाले त्यसको राजनीतिक मूल्य आफूहरूले समेत चुकाउनुपरेको बताए । लोकतन्त्रमा कानुनी वैधानिकता मात्रै पर्याप्त नहुने भन्दै उनले राजनीतिक निर्णयको नैतिक वैधता र नागरिक स्वीकार्यताको पनि परीक्षण हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्