नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारी साधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताउनुभएको छ ।
सोमबार केही सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारी साधन पार्किङ गरिएको भेटिएको थियो । ती सवारी साधनलाई प्रहरीले हटाउनुका साथै जरिवाना गरेर छोडेको थियो ।
मंगलबार सिंहदरबारमा पत्रकारहरूले यसै विषयमा राखेको जिज्ञासामा सभापति लामिछानेले ती सवारी साधन रास्वपाकै कार्यकर्ता या जसले राखेका भए पनि कारबाही हुने स्पष्ट गर्नुभएको हो ।
सभापति लामिछानेले सोमबारको घटनाका बारेमा पार्टीले नै विज्ञप्ति प्रकाशन गरेर रास्वपा सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सवारी अवरोध उत्पन्न गर्नेमाथि कारबाही हुने जानकारी गराइसकेको बताउनुभयो ।
प्रधानमन्त्री वालेन्द्र शाह र आफूबिच हालै भएको भेटवार्ताका सम्बन्धमा राखिएको एक जिज्ञासामा सभापति लामिछानेले सो भेटमा सुकुमवासी समस्याको दिगो र छिटो समाधान, विकसित विविध परिस्थिति, राष्ट्रिय राजनीति र पार्टीका विविध विषयमा कुराकानी भएको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्