नेपाल । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ । सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
गृहमन्त्री गुरुङले आफ्नो सवारीको कालो स्टिकर पनि हटाइदिन निर्देशन दिनुभयो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेसहितका अधिकृतलाई निर्देशन दिँदै गुरुङले भन्नुभयो, “मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनूस् ।” असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीको सिसामा जडान गरिएको कालो स्टिकर हटाउँदै कारबाही गरिरहेको छ ।
यता कानुनविपरीत सिसामा कालो स्टिकर टाँसेर सञ्चालन भएका निजी तथा सार्वजनिक सवारीलाई कारबाही भएको छ । काठमाडौँ उपत्यकामा चल्ने यस्ता ५४ सवारीलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष पहलमा कारबाही गरिएको हो ।
कारबाही गरिएकामध्ये ३७ वटा सवारीलाई प्रहरीले कालो स्टिकर हटाएर जरिबानाका लागि चिट काटेर यातायात व्यवस्था कार्यालयमा पठाएको छ । कालो सिसाको प्रयोग गरेर लागु औषध ओसारपसार, चोरी डकैती तथा हातहतियार ओसारपसारसम्म हुने गरेको गुनासो बढेपछि प्रहरीले कारबाहीको अभियान चलाएको हो ।
आइतबारदेखि काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसाको स्टिकर हटाउने अभियान थालिएको छ । भक्तपुर र ललितपुरमा कालो स्टिकर हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । बढी मात्रामा माइक्रोबस र ट्याक्सीका सिसामा कालो स्टिकर प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।
कारबाही गर्ने मात्र नभई कम्पनीबाट कालो सिसा जडान भएका गाडीको सिसा परिवर्तन गर्नेबारे पनि प्रहरीले गाडी बिक्रेता कम्पनीसँग छलफल अघि बढाएको छ । कतिपय सवारीमा कम्पनीबाट नै कालो सिसा जडान भएर आउने हुँदा बिक्रेता कम्पनीसँग छलफल गर्न लागिएको सुवेदीले बताउनुभयो ।
कार्यालयका अनुसार यातायात व्यवस्था ऐन–२०४९ को दफा ३९ अनुसार स्वीकृति नलिई सवारीको रङ, स्वरूप र इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्