नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ ।
यसैबीच मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
गुरुङ पूर्वगृहमन्त्री हुनुहुन्छ भने पुनसमेत पूर्व शिक्षामन्त्री हुनुहुन्छ । गुरुङ रास्वपाका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने पुन स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।
पहिलो पटक २०८२ चैत १३ गते गृहमन्त्री बन्नुभएका गुरुङले मन्त्री पदबाट २०८३ वैशाख ९ गते राजीनामा दिनुभएको थियो । व्यापारी दीपक भट्टसँग सेयर लगानी गरेको भन्दै प्रश्न उठेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
२०८३ वैशाख २८ गतेको मन्त्रीपरिषद् बैठकले गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।
उक्त समितिले बुझाएको प्रतिवेदन मङ्गलबार मन्त्रीपरिषद्ले ग्रहण गरे लगत्तै उहाँ पुनः गृहमन्त्री बन्नुभएको हो ।
महावीर पुन भने २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारका शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँले २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गर्नु अघि मन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँ नेपाल आविष्कार केन्द्रका संस्थापक हुनुहुन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्