१९ जेष्ठ २०८३, मंगलवार

रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका सिलसिलामा भारतको नयाँदिल्लीमा

कोलोराडोखबर संवाददाता , June 2nd, 2026

नेपाल । रास्वपाका सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका सिलसिलामा सोमबार भारतको नयाँदिल्ली पुग्नुभएको छ ।

भारतीय सत्तारूढ पार्टी भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुग्नुभएका लामिछानेलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले स्वागत गर्नुभएको थियो ।

नयाँदिल्लीमा रास्वपा सभापति लामिछाने र उहाँको प्रतिनिधिमण्डलले भारतीय सत्तारूढ पार्टी भाजपाको नेतत्वसँग उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै अयोध्याको समेत भ्रमण गर्ने तालिका रहेको छ । उक्त भ्रमणलाई भाजपा र रास्वपा दुवै पार्टीले ‘औपचारिक पार्टी–टु–पार्टी संवादको सुरुवात’ का रूपमा व्याख्या गर्दै उच्च महत्वसाथ हेरिएको जनाएका छन् ।

रास्वपाले सभापति लामिछानेले नयाँदिल्लीमा भाजपा शीर्ष नेतृत्वसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिँदै भेटवार्तामा दुई दलबिच सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान हुने जनाएको छ ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार जेठ १८ देखि २२ गतेसम्मको भारत भ्रमण क्रममा सभापति लामिछानेसहितको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छ ।

भाजपाले पनि नेपालको सत्तारूढ दल रास्वपाका सभापतिसँगको भेटवार्ताले दुई देशका राजनीतिक दलबिच औपचारिक संवाद र भविष्यमा सहकार्यका सम्भावनालाई बल पु¥याउने जनाएको छ ।

भाजपाका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेद्वारा जारी विज्ञप्तिमा भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग नयाँदिल्लीमा भेटवार्ता हुने उल्लेख छ ।

भ्रमणको उद्देश्य रास्वपा र भाजपाबिच पार्टी–पार्टी सम्बन्ध विस्तार गर्नुका साथै सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार विमर्श गर्ने रहेको भाजपाले जनाएको छ । सभापति लामिछानेसँगै रास्वपा प्रतिनिधिमण्डलमा महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहनुभएको छ । उक्त भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने जनाइएको छ ।

नेपाल र भारतका दुई प्रमुख सत्तारूढ राजनीतिक दलबिच सुरु हुन लागेको यो प्रत्यक्ष संवादले भविष्यमा दलगत सम्बन्ध र क्षेत्रीय राजनीतिक सहकार्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्