१६ जेष्ठ २०८३, शनिबार

पुस्तक समीक्षाः क्षितिजपारीको अँगनलाई नियाल्दा

कोलोराडोखबर संवाददाता , May 30th, 2026

-सुदीपभद्र खनाल-
हिन्दिमा भनाइनै छ ‘जहाँ नपहुँचे रवि वहाँ पहुँचे कवि ‘ अर्थात् सूर्यको उज्यालो नपुग्ने स्थानमा पनि कविहरू पुग्दछन्।कविको कल्पनाशीलता विजुली भन्दापनि तीब्र र पानीभन्दा पनि तरल हुन्छ । त्यसैले घाम नपुग्ने ठाउँमा पनि कवि पुग्छ । कवि चिन्तक हो र मार्गदर्शक पनि स्रष्टा हो र द्रष्टा पनि ।

अनेसासको नवौँ अन्तरराष्ट्रिय साहित्य सम्मेलनको सन्दर्भमा कोलोराडोमै रहेको बेला कोलोराडोको सुन्दर डेन्भर सहरमा फूलजस्तै कविता र सहृदयी भावना लिएर केन्टकीदेखि आइपुगेका कवि बद्री दाहालले मेरा हातमा थमाइदिए यौटा सुन्दर चम्पु काव्य ‘क्षितिजपारीको आँगन’ । मदन पुरस्कार विजेता कवि नवराज लम्सालकै शव्दमा भन्ने हो भने कवि बद्री दाहाल ‘अनन्त भित्र कविताको भोक र प्यासको अनन्त गहिराई छ ।’ कवि अनन्तकै शव्दमा भने कविता उनको आफ्नै मुटुको नक्सा , आँशुको ईन्द्रेणी र आफ्नै आत्माको प्रवास डायरी हो ।

“माया हुन्छ जहाँ त्यहाँ छ सपना सौन्दर्यका साथमा
वर्षा हुन्छ त्यहाँ खुसी र रचना आनन्दका छाँटमा

कवि अनन्तका प्रस्तुत कविताक हरफलेनै उनको काव्यकारिता दर्शाइदिन्छ । “मायाको महिमा” कविता जीवन र प्रकृतिको गहिरो सम्बन्धलाई अत्यन्त भावपूर्ण ढंगले प्रस्तुत गरिएको रचना हो। कविले मायालाई केवल मानवीय भावना नभई सम्पूर्ण सृष्टिलाई चलायमान बनाउने शक्ति मानेका छन्। वर्षा, संगीत, सृष्टि र पृथ्वीको गति जस्ता प्रकृतिका पक्षहरूलाई मायासँग जोडेर जीवनको सुन्दरता व्यक्त गरिएको छ ।

कवितामा माया भएको ठाउँमा सिर्जना, आशा, शान्ति र आनन्द फस्टाउने भाव छचल्किएको देखिन्छ। जसरी प्रकृतिमा वर्षाले हरियाली ल्याउँछ, त्यसरी नै मायाले मानव जीवनमा ऊर्जा र मधुरता भर्छ भन्ने सन्देश कविले दिन खोजेका छन्।आत्मा, मन र विचारलाई जोड्दै कविले प्रेमलाई जीवनको मूल आधारका रूपमा चित्रण गरेका छन्। संस्कृतनिष्ठ तथा काव्यमय भाषाशैलीले कवितालाई अझ प्रभावशाली बनाएको छ। समग्रमा, “मायाको महिमा” ले प्रकृति, प्रेम र जीवनबीचको गहिरो सम्बन्धलाई सुन्दर रूपमा अभिव्यक्त गरेको छ । साइबेरियन चरा शीर्षकको उनको एक गद्य कविताको अंश :
त्यो पानी उसको होइन
त्यो आकाश उसको होइन
त्यो बसाई केवल एक सम्झौता हो
जिउनु र फर्किनुको बिचको

रात पर्दा
ताराहरूको भीडमा
ऊ आफ्मो गाउँ खोज्छ
जहाँ हिउँभन्दा सेतो
आमाको सम्झना छ
जहाँ दूरीभन्दा गहिरो
माटोको सुगन्ध छ

म पनि त्यही चरा हूँ
न त पूर्ण यहाँ
न त पूर्ण त्यहाँ
मेरो पखेटामा भिसाका छाप छन्
मेरो उडानमा नियमका बारहरू ।

युवाकवि मोतिराम भट्टको शैलीमा समूह बनाएर गजल गायन र काव्य मण्डलीकै स्वरूपमा केन्टकीमा अनेसासको च्याप्टरको विकासमा संगठकको रूपमा संलग्न उनले यस पुस्तकमा केही गजलहरू पनि समावेश गरेका छन्। गेयात्मकताको प्रवलता सहित उनका मिठा गजलहरूले उनीभित्र रहेको बहुप्रतिभालाई उजागर गर्न मद्दत गरेका छन्।

कूल १११ कविताहरू रहेको यस सङ्ग्रहमा केही छन्द कविता र अधिकतम गद्य कविताहरू रहेका छन्। उनको कलम दुबैतर्फ खुलेको छ । उपमा उपमेय र आन्तरिक लयको सम्वर्धनले उनको कविता पूर्णिमाको चन्द्रमाजस्तै बन्नसक्ने सम्भावना देखिन्छ ।उनका कवितामा जीवन लहराएको छ । प्रकृति झल्किएको छ र प्रेम मुस्कुराएको छ । प्रथम कृति भएपनि उनको काव्यशील्प कसैले तिखार्न नपर्ने वनको काँडा जस्तै तिखो छ र वनफूलजस्तै सौन्दर्ययुक्त छ । विम्व र कलाको चहक पनि पहाडी बनमा तरेलीझैँ सौन्दर्य बोकेर मिसिएर आएको छ । साधना र निरन्तर लेखनको अभ्यास रहिरहे उनलाई काव्यका शिखरमा उक्लन कसैले रोक्न सक्दैन । शैली नेपाल प्रकाशक रहेको यो पुस्तक पठनीय र सङ्ग्रहणीय पनि छ ।

डायस्पोराको महक आउने यस पुस्तकमा रहेका छन्दका कवितामा देखिएको भावप्रवाहले उनको कलम छन्दमै पनि सबलतातर्फ बढ्न खोजिरहेको देखिन्छ । परदेशको भूमिमा रहेर पनि छन्दको सुगन्ध फैलाउन साधनारत कवि बद्री दाहाल अनन्तलाई अन्तरहृदयबाटै अनन्त वधाई ।

-केन्द्रीय उपाध्यक्ष, अनेसास ।

प्रतिक्रिया दिनुहोस्