-आरसी रिजाल-
माइत आएकी नन्द पाँचदिन बिताएर घर फर्कन्छु भनेपछि भाउजूले — के बितेको छ र नानी फर्किहाल्नु पर्ने ? अझै बस्नुस् न। कति रमाइलो भैरा’छ भनिन्।
नन्दले — ज्वाइ एक्लै हुनुहुन्छ।म त आमाको न्यास्रो मेट्न आएकी भनिन् ।
भाउजुले — सासू कहाँ जानुभयो र?भनिन् ।
नन्दले — त्यो एकल करकरे बुढीसङ्ग छुट्टीएको तीन महिना भैसक्यो भनिन् ।
भाउजूले — बिबाह भएको बर्षदिन पुग्दैछ। बिचरी ! रोगी बुढी सासूलाई कसले रेखदेख गर्छ त ? भनिन् ।
नन्दले — आ! बुढी दरिले छे। बिरामीको बहाना मात्र गर्छे। तिनलाई दसबर्षसम्म ठायाँले पनि छुँदैन। फेरि ज्वाइले पैसा पेलिहाल्नु हुन्छ।दङ्ग परेर बसेकी छे रे ! भनिन् ।
जानेदिन बिहान नन्दले– भाउजू तपाइले सासुलाई आफ्नै आमाझैँ सम्झेर व्यबहार गर्नुहोला है। आमालाई सन्चो भएन भने मोबाइल गर्नुस् म तुरुन्तै आइपुग्छु भनिन् ।
भाउजूले– मैले व्यबहार बुझेकी छु नानी ।मलाई आमा र सासुआमा उस्तै लाग्नुहुन्छ। नानी ढुक्क भएर जानुस् । तपाइँ जस्तो दुरदर्शी हुन मेरो संस्कारले दिँदैन भनिन् । नन्द ट्वाल्ल परिन् ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्